काठमाडौं । महात्मा गाँधीको भन्दा धेरै नाम नाथुराम गोट्सेको चलेको देखिन्छ । जननेता मदन भण्डारीसँगै अमर लामाको नाम पनि चर्चित रहेको छ। कहाँ पुष्पलाल, कहाँ केशरजंग रायमाझी, दुवैको नाम चलेकै छ । तर नाम चलेको हो कि दुर्नाम चलेको हो, त्यसलाई पाठकले राम्ररी नियाल्नुपर्छ ।
घर बनाउनेको भन्दा भत्काउनेको नाम धेरै चल्दोरहेछ । रत्यौली खेलेर र खेलाएर मजा मान्नेहरु रामकुमारी झाँक्रीलाई मिडियामा नचाएर प्रचार गरिँदिँदा रहेछन् र चर्चित बनाउँदा रहेछन् । हजारौंको संख्याका उपल्ला तहका नेता भएको एमाले लगायत पार्टीमा नाम, गुमनाम, दुर्नाम र बदनाम जे जसरी पनि भए पनि नाम चल्यो भने भइगयो । पार्टी महाधिवेशनमा उठेका सबै उम्मेदवार नेताको नाम सबैलाई कण्ठ हुँदैन । अनि जे जसरी भए पनि जसको नाम चलेको छ र सुनेको छ, त्यही नेताका नामका अगाडि रेजा चिन्ह लगाउँदा कामकाजी नेता हार्ने र पदराजी, प्रचारवाजी र बात बहादुर नेता चुनावमा जित्ने अवस्था आउँदो रहेछ । नभन्दै योगेश भट्टराई र घनश्याम भुसाल यस्तै कोटिको नेतामा परेको यस लेखकले केही तथ्य, सत्य प्रमाणहरु फेला परेको छ ।
योगेश भट्टराई लामो समयसम्म प्रचार विभाग र यसको पनि प्रमुख भएर बसे, जसले गर्दा मिडियामा छाइरहे, बहुप्रचारित भइरहे । सैद्धान्तिक वैचारिक सक्षम नेता प्रदीप ज्ञवाली, शंकर पोखरेल र मणि थापा जस्ता नेता कामकाजका कारण जति हुनुपर्ने त्यति प्रचारित भएका छैनन् तर भुसाल र भट्टराई चर्चाको सतही शिखरमा देखिन्छन् । तथापि सैद्धान्तिक तथा वैचारिक एक नेता र कार्यकर्ताले अनेक कार्यकर्ता, नेता र आम जनतालाई शिक्षित प्रशिक्षित गरेर भ्रममुक्त पार्ने क्षमता राख्छन् त्यस्ता नेता र कार्यकर्ताले बात बहादुर नेताको असलियत उजागर गरेर भुइँ तहमा छरिएका भ्रम निवारण गरिदिन्छन् । केवल प्रचारवाजीमा रमाउने उपर्युक्त नेतालाई तिनले कमजोर बनाइदिन्छन् ।
भुसाल र भट्टराई मिडिया, सामाजिक सन्जाल र अखबारहरुमा बहुप्रचारित भएर नै विशेषतः चर्चित बनेका हुन् । ब्याड न्युज गुड न्युज भनेझैँ सदाबहार पार्टी र अझ ओली नेतृत्वको पार्टी र सरकारका विरुद्ध अष्टबक्र विचार, चिन्तन र चरित्र अपनाउँदा सञ्चार माध्यमको आँखामा परिन्छ । यस्तै खालका गतिविधि गर्नेहरु टेलिभिजन र एफ.एम. रेडियोहरुमा बारबार छाउँछन् । माओले गलत विचाररुपी झारपात उखेल्ने मानिसको पनि अभाव हुँदा कसैले प्रतिवाद नगरेपछि आम जन मानसमा गलत कुराहरुको प्रभाव पर्छ ।
ओलीले एक समारोहमा भनेझैँ हामी कति भलाद्मी ज–जसले जेजे गलत टिकाटिप्पणी, लेख रचना, कटु आलोचना, भ्रम, अफवाह फैलाए पनि चुपचाप रहन्छौँ, शालिनतापूर्वक तर्क र तथ्य संगत प्रतिवाद पनि गर्दैनौ भन्नु भएको थियो । सिस्न्ु पानी नेपालले नेपालका मिडिया विदेशीका गुडिया भनेझैँ देशको शान्ति, सुख र समृद्धि विरुद्ध लागिपर्दाको स्थितिले जनताका बीचमा भ्रमहरु छरिएको हो । तर यसमा पनि युवा संघले साइबर सेनाको सञ्जाल तयार पारेको हुँदा प्रतिवादको आँधी बेहरी आउने निश्चित छ ।
भट्टराई र भुसाल एमाले पार्टीमा फर्किनु पर्ने अदालतको आदेशपछि पनि गुटगत रवैया देखाउँदै थिए । उनीहरु त आगामी सरकार र पार्टी सञ्चालन बारे पार्टीमा छलफल गरेर निर्णय गरिने विधिसम्मत कुरा गर्न छाडेर अत्यन्त स्वार्थ परक गुटगत भेलाको निर्णयको प्रचार गर्दै हिडेको देखियो । तिनले अब यस्ता रबैया चल्न सक्तैनन् भन्ने राम्ररी बुझे हुन्छ । उनीहरु अहिले पनि प्रधानमन्त्री ओलीलाई मात्र तारो बनाएर कटाक्ष गरिरहेका छन् ।
भारतका लागि अनुकूल वा कन्फर्टेबल सरकार बनाउने खुल्ला उद्घोष गरेको देखीबुझी त्यस मार्गका विरुद्ध एक शब्द बोलिरहेका छैनन् । काका, बाउ वा आमाले घरभाँडा काम गरे पनि एक पटकलाई माफ दिएर घरमा प्रवेश गराउन सक्छन् तर त्यस्तालाई परिवारले लामो समयसम्म शंकाको नजरले हेरिरहनु पर्छ । एक पटक पाएको मूल्यवान् अवसर खेर फाल्ने नेता, नेता हुँदैन । ५०, १०० वर्षपछिको स्थिति आँकलन गर्न नसक्ने नेता प्रमुख नेता त हुनै सक्तैन । ठेस लाग्दै बुद्धि फिर्दै गर्ने नेता के नेता । एमाले पार्टी विगतका सबै गलत गतिविधि परित्याग गर्छ भने त्यस्ता नेतालाई भावी दिनमा सच्चिने सर्तमा स्वीकार गर्ने पार्टी हो ।
जननेता मदन भण्डारीले निरंकुश जन दमनकारी राजा र वा राजतन्त्र खोपीको देउता भएर बस्छ वा सप्रिन्छ भने ठिकै छ नत्र त्यसको समूल अन्त्य हुन्छ भन्नु भएकै हो । तर महत्वपूर्ण अवसर पाउँदा पनि पुष्पकमल दाहाल प्रचण्डको मति सुध्रिएन तै पनि दाहाल नेपाल गुटका भुसाल र भट्टराई बेमौसमको बाँसुरी बजाइरहेका छन् । ओली अबका दिनमा सच्चिने र सप्रिने जो कोहीलाई सच्चिने अवसर दिनु पर्छ भन्ने मान्यताकै नेता हुनुहुन्छ । बुद्धले अङ्गुलीमाल जस्ता हत्यारालाई सुधारेझैँ, संगतका प्रभावले रत्नाकर डाँकु वाल्मीकि भएझैँ ओलीले सच्चिन चाहनेहरुलाई एक पटक मौका दिनै पर्छ र दिनु हुन्छ तर एक हातले ताली बज्दैन । ओलीले कीराको संगतले रछ्यानमा बास हुन्छ भन्नु भएकै हो । माधव कुमार नेपाल गम्भीरतम कमजोरीका बारेमा नेकपाका महासचिव ऋषि कट्टेलले एक मिडियामा लामै बेलिविस्तार लगाएका छन् ।
तसर्थ योगेश भट्टराईले आफूलाई सच्चिने लक्षण स्पष्ट रुपमा देखाउनु पर्छ । अब अवसरवाद केन्द्रित चिन्तन र चरित्र सर्वथा परित्याग गर्नु पर्छ । चुनाव नजितिन्जजेल ओलीलाई बाबु भन्ने जितेपछि बन जाउ बाउ भन्न्ो चरम अवसरवादी सरम परित्याग गर्नु पर्छ । पार्टी एकीकरण हुनलाग्दा हाम्रा अध्यक्ष प्रचण्ड भन्ने भट्राई र भुसालले उतिबेलै पार्टीमा सबल भूमिका निर्वाह गरेको भए यस्तो अवस्था आउने थिएन । गरे जस्तो गरेर कुनै पनि सफल हुँदैन । यी दुवै नेता सैद्धान्तिक दृष्टिले पनि कमजोर देखिएका हुन् । जबजका प्रकाशमा नेपालको राजनीति र राजकीय क्षेत्रमा यति उचाइको प्रगति हुँदा पनि यसका विरुद्ध नजानिँदो पारामा षडयन्त्र गर्नु अचम्म र उदेकको कुरा हो ।
नेता भुसालले स्थायी समिति बैठकमा ओलीलाई थुक, रगत, खकार टेस्ट गरेर आफ्नो गुटको हो, होइन भनेर पार्टी भित्र छुट्याउने, यसैगरी गुटबन्दी गरिराख्ने भन्दै ओलीलाई आफूले नमान्ने मात्र होइन, आफू ओलीबाट शाषित हुन चाहन्न र तपाईंलाई निन्दा गर्छु समेत भनेका थिए । माओवादी पार्टीबाट बहिर्गमन गर्ने बाबुराम भट्टराईप्रति आफ्नै मान्यजनको मरणमा भन्दा बढी पिर गर्ने भुसाल ओली लक्षित मनोगत कटुकटाक्ष गर्न हौसिने गर्छन् । यिनै भुसाल ओली गुणलाई गुट भनेर लान्छित गर्न पनि भ्याउँछन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीका दुवै जिम्मेवारीका खासै सकारात्मक चर्चा पटक्क नगर्ने भुसालले नवौँ महाधिवेनका बेला जनताको बहुदलीय जनवादलाई आजका दिन सम्म कुनै पनि नेताले सिद्धान्त नबनाएको हुँदा यसलाई सिद्धान्तका रुपमा आफूले स्थापित गर्ने उद्घोष गरेका थिए ।
तर पार्टी एकीकरण पछि उनले जबजको च्याप्टर क्लोज भएको उद्घोष गरे । छिनछिनमा विचार फेर्ने नेता वैचारिक हुनसक्तैन । लेखक मुमाराम खनाल र प्रसिद्ध स्रष्टा नारायण ढकालले पनि भुसालको अवसरवादी चरित्रका बारेमा उल्लेख गरेका छन् । नभन्दै अवसरवादको कुनै जात, धर्म, लबी हुँदैन ।
यो यस्तो लबस्तरो प्रवृत्ति हो, त्यसले कसैलाई बाँकी राख्तैन र आफैँलाई पनि समाप्त पार्छ । हुन त फलामको चारसुते रडलाई दोबार्न सकिन्छ तर छसुते रड दोबार्न सकिन्न । यसलाई त आरनमा हालेर,गालेर र पगालेर मात्र उपयोगमा ल्याउन सकिन्छ । भुसाल र भट्टराई कस्ता रड हुन् परीक्षण नगरी भन्न सकिन्न । धनश्याम भुसालले नेपाल राष्ट्रिय साप्ताहिक(आइतबार १६,वैशाख २०७५ ) पत्रिकामा हामीलाई छाडेर बाम एकताको वैचारिक पक्ष पूर्ण नभएको र यसमा समस्या आएको हो भनेर बौद्धिक वैचारिक अहं प्रस्तुत गरेका थिए ।
भुसालले ओली सरकारको विकास र समृद्धिलाई लक्षित गर्दै विकासका नाममा फासीवाद आउने सम्मको शत्रुवत् आक्षेप लगाएका थिए । भुसाल र भट्टराई जति उफ्रिए, उठे पनि भुइँ छाडेपछि पछारिनु स्वाभाविक हुनेछ । भुसालले आवेश र उत्तेजनामा नआइकन आफ्नो वैचारिक, बौद्धिक, प्राज्ञिक तथा क्रियाशील उर्जा खेर नफाले हुन्थ्यो भन्ने यस लेखकलाई अहिले पनि लागेको छ । अझै समय त छ तर सचेतता छ कि छैन थाहा छैन ।
त्यसैले एउटा लेखकका नाताले अल्वर्ट आइन्टाइनले उपयोगी वा युजफुल हुनु भन्दा भुसालहरु सफल वा सक्सेस्फुल हुनु राम्रो भन्ने दुवै नेतालाई सुझाव छ । एक जना सन्तले सत्य कुरा बोल्यौ भने बनावटी कुरा सम्झिरहनु पर्दैन भनेझैँ अन्तर्मनले देखेको कुरा भन्न, मनन गर्न र क्रियान्वयन गर्न जरुरी देखिन्छ । नत्र जबजका रक्षक युवा र प्रौढ नेता र कार्यकर्ताहरुको अब कमी छैन ।
अस्थिरताका साधक भुसाल भट्टराई जस्ता नेताहरुले कम्युनिष्ट आन्दोलन र प्राप्त उपलब्धि समेत हरण गराउने अभिप्रायका साथ प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली केन्द्रित अराजक, अनैतिक तथा अकर्मण्य गतिविधिका विरुद्ध जबजका रक्षकहरु देशव्यापी रुपमा लाखौँको संख्यामा लाल किल्लाको सुरक्षार्थ अघि बढेकै हुन् । यो शक्ति लामै लडाईको तयारीमा थियो र यस लडाईँमा आन्दोलनमा लागेका कालीपोके र तमाम ऐँजेरुहरु समाप्त पार्ने अभियान पूरा गर्ने तयारीमा थियो ।
अहिले अदालतले सबैलाई एक ठाउँमा ल्याएको छ तर पहिले झैँ रत्यौली खेल्न अब पाइन्न र पूर्ववत् सबैले मान,सम्मान र जिम्मेवारी पाउने कुरा पनि हाताहाती पूरा नहुनसक्छ । यो मूल्यवान् मौका नचुकाउँ । समयले कसैलाई पर्खिँदैन । बेलैमा बुद्धि पु¥याऔँ । नत्र बाँकी जीवन पछुताएर बिताउनु पर्न सक्छ ।