काठमाडौं । सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि सबैको चासोको विषय बनेको छ– माओवादी केन्द्रबाट मन्त्री बनेका नेताको भविष्य के हुन्छ ?
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहेको भन्दै सर्वोच्च अदालतले खारेज गरेको थियाे । अदालतले साबिक एमाले र माअोवादी केन्द्र ब्यूँताउने गरी फैसला सार्वजनिक गरेको छ ।
अदालतको फैसलापछि केपी शर्मा ओली पक्षतिर लागेका तत्कालिन माओवादी केन्द्रका मन्त्रीहरुको भविष्य के हुन्छ भन्ने आम चासो रहेको छ । सरकारमा रहेका मन्त्रीहरुले आफुहरु सांसद पद छोड्ने तर, माओवादी केन्द्रमा नफर्किने अडान लिएका छन् । दल त्याग ऐनअनुसार पार्टी परिवर्तन गर्दा स्वतः संसद सदस्यता गुम्नेछ । तर, पनि उनीहरुले एमालेतिरै रहने निर्णय गरेका छन् ।
गत पुस ५ गते संसद विघटनपछि सरकारमा गएका तत्कालिन माओवादी केन्द्रका एक मन्त्रीले आफूहरु ढुलमूले नीतिमा नरहेको भन्दै सर्वोच्चले जे फैसला गरे पनि ओली समूहमा रहने बताए ।
‘प्रचण्डसँग विद्रोह गरेर हिँडेका हामी फेरी पनि उहाँलाई नै नेता मान्न जाँदैनौं । सांसद पद गए पनि प्रधानमन्त्रीजीसँगै रहन्छौं, हामी उहाँलाई धोका नदिने मनस्थितिमा पुगेका छाैं’, ती मन्त्रीले भने ।
प्रचण्ड–नेपाल समूह संसद विघटनको विपक्षमा सडकमा नारा लगाउँदै गर्दा प्रचण्ड निकट केही नेता सरकारको पक्षमा उभिएका थिए । केपी ओलीले नेतृत्व गरेको सरकारमा अहिले पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु शाह, खानेपानीमन्त्री मणि थापा रहेका छन् । बादल र भट्ट प्रचण्डको कोटाबाट मन्त्री बनेका हुन् भने रायमाझी, शाह र थापा प्रचण्डसँग विद्रोह गरेर बाहिरिएका नेता हुन् ।
मन्त्री रायमाझीले सर्वोच्चको फैसलाको सम्मान गर्ने तर, माओवादी केन्द्रमा नफर्किने प्रतबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौँ तर तत्काल माओवादी केन्द्रमा फर्किने कुरा सम्भव छैन ।’