यसरी नै सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरीले पाँच वर्ष काटे । यस वर्षको जाडो यामले बिदा लिनै लाग्दा भने सीमभन्ज्याङ प्रहरी चौकीले नयाँ पक्की घर पाएको छ । सिमभञ्ज्याङ उत्तरी मकवानपुरको थाहा नगरपालिका–४ मा पर्छ । नेपालकै सबैभन्दा जेठो त्रिभुवन राजपथबाट थाहा नगरपालिका प्रवेश गर्ने दक्षिणी नाका यही हो ।
मुलकमा शान्ति प्रक्रिया शुरु भएपछि २०६४ सालमा सिमभन्ज्याङमा इलाका प्रहरी कार्यालय पालुङअन्तर्गत रहने गरी प्रहरी चौकी स्थापना गरिएको थियो । प्रहरी चौकी स्थापना भए पनि उपयुक्त भवनको अभाव हुँदा प्रहरी टोली ‘गुफाजस्तो’ सानो भवनमा बस्दै आएको थियो ।
त्यही भवन पनि भूकम्पले भत्काएपछि प्रहरी आफँै विपद् जोखिमका दृष्टिले असुरक्षित बन्दै आएको थियो । अहिले चार कोठे पक्की भवनमा बस्न पाउँदा सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश थापा निकै खुशी हुनुहुन्छ । ‘टेन्टमा बसिनसक्नु थियो, ठाउँठाउँमा च्यातिएर प्वाल परेका थिए, जीवन कष्टकर थियो,’ टेन्टमा बस्दाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “अहिले त निकै सुविधा भएको छ ।
कार्यस्थलमा खटिनु नपर्दा ढुक्कले सुत्न पाइने भएको छ ।” यसअघि कार्यस्थलमा नरहँदा पनि ढुक्कले सुत्न नसकिने हुँदा काममा खटिएका प्रहरीसरह खडा भइरहनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
यसरी बन्यो भवन
थाहा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय पालुङले प्रहरी चौकी भवन पुनःनिर्माणको लागि माथिल्लो निकाय र थाहा नगरपालिकासँग आग्रह गरिरहेकै थियो । तर सम्भव भइरहेको थिएन । यही क्रममा वाग्मती प्रदेश सरकारले मर्मत–सम्भारको लागि रु तीन लाख उपलब्ध गराउन सक्ने भएपछि थाहा नगरपालिकाले थप रकम उपलब्ध गराउने आँट ग¥यो । नगरपालिकामा रु चार लाखभन्दा बढी रकम नभएपछि जम्मा रु सात लाखले चार कोठाको पक्की भवन बन्ला कि नबन्ला भन्ने प्रश्न खडा भयो । यति लगानीमा चार कोठे भवन निर्माण गर्न कोही अघि सरेनन् ।
थाहा नगरपालिकामा इन्टरलक इँटा उत्पादन गरेर भूकम्पपीडितलाई सस्तो मूल्यमा उपलब्ध गराउँदै आउनु भएका स्थानीय युवा दीपक हमाललाई भने प्रहरी चौकी भवन निर्माण एउटा अवसर बन्यो । आफैँले उत्पादन गरेको इन्टरलक इटाको प्रयोग गरेर हमालले रु सात लाखमा शौचालयसहितको चार कोठे भवन बनाएर नगरपालिकालाई हस्तान्तरण गर्नुभयो ।
हमालले रु तीन लाख ५० हजारमा भूकम्पपीडितको दुई कोठे भवन भवन निर्माण गर्दै आइरहनु भएको छ । यही लागतमा अहिलेसम्म दुई सय बढी घर बनाइसक्नुभएका उहाँलाई रु सात लाखमा चार कोठाको घर बनाउनु चुनौतीको विषय थिएन । “इन्टरलक इँटाबाट सस्तोमा घर बनाउन सकिन्छ । सिमेन्ट थोरै लाग्ने, कामदार कम लाग्ने, रातो इँटाको तुलनामा सस्तो पर्ने र कम समयमा काम सकिने हुँदा साँढे तीन लाखमा जस्ताले छाएर दुई कोठाको भवन बनाउन सकिन्छ,” हमालले राससलाई भन्नुभयो ।
सीमभन्ज्याङ प्रहरी चौकीको भवन थाहा नगरपालिकाले प्रहरीलाई हस्तान्तरण गरिसकेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नवनिर्मित भवनको साङ्केतिक साँचो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरलाई हस्तान्तरण गर्नुभएको थियो । नयाँ बनेको भवनमा विद्युत् जडान, रङ्गरोगन, झ्याल ढोकामा पर्दालगायत साजसज्जा गरेर हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रहरीका लागि भवन बनाएर हस्तान्तरण गरेकामा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरले थाहा नगरपालिकाप्रति खुशी व्यक्त गर्नुभयो । भवनको साङकेतिक साँचो जिल्ला प्रहरी कार्यालय प्रमुखको कार्यकक्षमा प्रदर्शनीका लागि राख्ने उहाँले बताउनुभयो । रासस