माधव -प्रचण्ड समुहलाई अर्को झटका, सांसद गंगा चौधरी ओली समूहतिर

काठमाडौं । सत्तारुढ नेकपाका दुई समूहबीच सांसद तानातान भइरहेका बेला एकजना सांसद गंगा चौधरी सत्गौवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने बताएकी छन्।

नेकपामा सांसद तानातान चलिरहेका सत्गौवाले मंगलबार लिखित धारणा सार्वजनिक गर्दै यदि पार्टी विभाजन हुने अवस्था आएमा आफू ओली समूहतिर लाग्ने बताएकी हुन्।

प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ मा संघीय संसदमा दर्ता अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेकी उनले नेकपा कानुनी रुपमा विभाजित हुने अवस्था आएमा आफूलाई जनताको बहुदलीय जनवाद र राष्ट्रियताको पक्षमा खरो उत्रिने समूहलाई साथ दिने बताएकी हुन्।

‘अन्तिममा पार्टी फुट्ने निश्चित नै भयो भने कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधार को प्रतिनिधित्व गर्ने राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने दुवै मित्र राष्ट्र लाई समदुरीमा राख्न सक्ने ल्याकत भएको जनजीविकाको सवाललाई उच्च प्राथमिकता दिने राजनीतिक स्थिरताको पक्षधर, मुलुकको विकास र समृद्धिको लागि खरो उत्रन सक्ने क्षमता भएको र आमजनताले तुलानात्मक रुचाएको पक्षलाई मेरो साथ र सहयोग  रहनेछ’, उनले भनेकी छन्।

सांसद चौधरीले दोस्रो पुस्ताका नेताहरुलाई पार्टी विभाजनको विडम्बनापूर्ण परिस्थितिलाई टुलुटुलु हेरेर नबस्न पनि अपिल गरेकी छन्। उनले पार्टीलाई एक ढिक्का बनाउन सशक्त र प्रभावकारी भूमिका खेल्न पनि भनेकी छन्।

‘मेरो पहिलो प्रयास र प्राथमिकता जनताको झण्डै दुईतिहाइ बहुमत प्राप्त पार्टी नेकपा एक ढिक्का राख्नेमा हुने छ’, उनले भनेकी छन्, ‘यदि त्यसो नभएमा एउटा न एउटा पक्षलाई साथ दिनै पर्छ। त्यो अवस्थामा मेरो लाइन जबज र राष्ट्रियताको पक्षमा अडान लिनेसँग हुनेछ।’

उनले ६५ वर्ष नाघेका नेताहरुलाई बिदा दिन पनि भनेकी छन्। ‘६५ वर्ष नाघेका पटक पटक र लामो अवधि पार्टी र सरकारको नेतृत्व  गरिसक्नुभएका नेता हरुले अब हाम्रो पालो पुग्यो हामी स्वेच्छिक रुपमा दोस्रो युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छौँ र पार्टी संरक्षक र सल्लाहकारको भूमिकामा रहन्छौ भनेर संयुक्त  विज्ञप्ति निकालेर घोषणा गरिदिनुस्’, उनले भनेकी छन्, ‘सक्रिय राजनीतिबाट विश्राम लिनुहोस्। त्यसबाट तपाईंहरुको उचाई बढ्ने छ, जय जयकार हुने छ।’

तत्कालीन थरूहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) की अध्यक्ष तथा सांसद गंगा चौधरी ०७३ सालमा नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी थिइन्। त्यसपछि उनी नयाँ शक्तिबाट नेकपामा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस