काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुष ५ गते अपरान्ह साढे तीन बजे दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएकी नेकपाकी सांसद माया ज्ञवाली ओली पक्षमा खुल्नु भएको छ ।
अविश्वासको प्रस्ताव पुरानो भएको भन्दै उहाले आफू प्रचण्ड–माधव पक्षमा नरहेको घोषणा गर्नुभएको हो । ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उहाँको पनि नाम थियो ।
‘म केपी ओली नेतृत्वको पार्टीमा छु र पार्टी एकता होस् भनेर वामदेव गौतम कमरेडलाई पनि साथ दिएकी हुँ । संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु अहिले’, उहाँले भन्नुभयो । यसबीचमा वामदेव गौतमको पार्टी एकता अभियानसँग समेत उहाँ संलग्न भएको देखिएको थियो । ज्ञवाली दासढुंगा दुर्घटनामा निधन हुनुभएका तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुनुहुन्छ ।