काठमाडौं । नायक पल शाह विरुद्ध प्रहरीमा उजुरी परेको छ। आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १का अध्यक्ष अरुण प्रधानले पल विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रधानको निवेदन परेपछि पललाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको छ।म्युजिक भिडिओ सुटिङका लागि धरान आएका पलको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ।
यही फागुन १३ गते राति धरान स्थित एक होटलमा खाना खाने क्रममा नायक पललाई आफूले एक कार्यक्रममा अतिथिका रूपमा निमन्त्रणा गरेको तर आउन नमानेपछि फेसबुकको पोस्ट हटाइ दिन्छु भन्दा नायक पलको निर्देशनमा उनका सहयोगी जोशीले आक्रमण गरेको प्रधानले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ। आज दिउँसो प्रहरीले नायक पललाई बोलाएको बताइएको छ।