प्रचण्ड र माधव हल बाँधेर प्रधानमन्त्री बनाइदिनु परो भन्दै मैकहाँ आइपुग्न बेर छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कथमकथाचित संसद पुर्नस्थापना भए प्रचण्ड र माधव हल बाँधेर प्रधानमन्त्री बनाइदिनु परो भन्दै आफु कहाँ पुग्ने बताउनुभएको छ । सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्नेगरी नआउने भन्दै प्रधानमन्त्री ओलीले कथम कदाचित भएछ नैभने पनि प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना एक प्रतिशत पनि नरहेको बताउनु भयो ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएर बहुमतको सरकार ढाल्ने र अरुलाई प्रधानमन्त्री बनिदेऊ भन्दै हल बाँधेर हिड्ने अवस्थामा प्रचण्डमाधव पुगेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘काल्पनिकरूपमै भने पनि लौ प्रतिनिधिसभा पुनःस्थापना भएछ रे, त्यसपछि बिचरा प्रचण्ड, माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस् भन्दै कहिले उत्तर, कहिले दक्षिणतिर जानुहुन्छ । खोजेर हिँड्दा हिँड्दै मैकहाँ आइपुग्न बेर छैन ।’

संविधान, संसदीय व्यवस्था र अभ्यासले बहुमतको प्रधानमन्त्रीले सरकार चलाउने वातावरण रहेन भने संसद विघटन गर्न सक्ने भन्दै प्रधानमन्त्री अलीले देशलाई अस्थिरतातर्फ लैजाने फैसला अदालतले गर्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताउनुभयो ।

उहाँले सूर्य चिन्ह आफूले २०४७ सालमा निर्वाचन आयोगमा दर्ता गराएको भन्दै प्रचण्ड फर्केर पेरिसडाँडा गइसकेकाले चिन्ह कसले पाउँछ भन्ने विवादनै नरहेको बताउनुभयो ।

ओलीले चुनावले देशलाई सही बाटोमा लैजाने भन्दै आत्मविश्वासका साथ तयारीमा लाग्न युवा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस