धुर्मुस-सुन्तली फाउन्डेशनको नाममा एनआरएन प्रवीण गुरुङको ठगी धन्दा

चितवन । धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा अनुमानित तीन अर्ब लागतमा क्रिकेट रंगशाला निर्माण शुरु गरे पनि त्यसलाई सम्पन्न गर्न सकेको छैन ।

फाउन्डेशनलाई रंगशाला निर्माणका लागि दाताहरुले प्रतिबद्धता जनाएको सहयोग नदिएका कारण कामले गति लिन सकेन । फाउन्डेशनका सञ्चालक सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले दाताहरुले प्रतिबद्धता जनाएअनुसार सहयोग नगरेकाले निर्माण कार्यले गति लिन नसकेको बताएका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेशनलाई स्वदेशदेखि विदेशका नेपाली संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यही प्रतिबद्धताका आधारमा उनीहरुले रंगशाला निर्माण शुरु गरेका थिए । तर प्रतिबद्धताअनुसार रकम नदिएपछि उनीहरु रंगशाला निर्माण अवरुद्ध हुने चिन्तामा छन् ।

प्रवीण गुरुङ-एनआरएन मध्यपूर्वका संयोजक

फाउन्डेशनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न च्याप्टरले सहयोग गर्ने आश्वासन दिएका थिए । एनआरएन कतारले दुई वर्ष अगाडि धुर्मुस–सुन्तलीलाई अतिथि बोलाएर २०७६ जेठमा ‘नेपाल आइडल’ को ग्राण्ड फिनालेका दिन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख दिने घोषणा गरेको थियो । एनआरएन मध्यपूर्व तत्कालीन उपसंयोजकका हैसियतले प्रवीण गुरुङले उक्त सहयोगको राशि घोषणा गरेका थिए ।

तर दुई वर्ष बितिसक्दा पनि प्रवीण गुरुङले उक्त सहयोग फाउन्डेशनलाई दिएका छैनन् । गुरुङ अहिले एनआरएनए मध्यपूर्वको संयोजक छन् । उपसंयोजक हुँदा बोलेको रकम फाउन्डेशनलाई उनले अहिलेसम्म दिएका छैनन् । उक्त कार्यक्रममा धुर्मुस–सुन्तलीलाई सँगै राखेर उनले सहयोग गर्ने घोषणा गरेका थिए ।

एनआरएन कतार मात्र होइन, यसैगरी फाउन्डेशनलाई सहयोग गर्ने आश्वासन दिएका धेरै संस्था वा व्यक्तिले आफ्नो प्रतिबद्धता पूरा नगरेका कारण रंगशाला निर्माण अवरुद्ध हुन पुगेको छ ।

चर्चामा आउनका लागि सहयोग राशि दिने घोषणा गर्ने र पछि नदिने प्रवृत्तिले धुर्मुस सुन्तलीलाई अप्ठेरो परेको छ । त्यत्रो रकम भरतपुर महानगरपालिकाले मात्रै व्यहोर्ने अवस्था छैन । रंगशाला निर्माणमा महानगरपालिकाले भरपुर सहयोग त गरेको छ, तर ३ अर्ब लागतको रंगशाला निर्माणका लागि महानगरले मात्रै धान्ने अवस्था छैन ।

एनआरएनमा बद्नाम हावी हुँदा


एनआरएन मध्यपूर्वका संयोजक प्रवीण गुरुङले धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा निर्माण शुरु गरिएको क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेर नदिएपछि उक्त संस्थाकै बद्नाम भएको छ । प्रवीण गुरुङ जस्ता सुन तस्करी र नेपाली महिलाको श्रम शोषण गरी बद्नाम भएका व्यक्तिलाई एनआरएनको नेतृत्वमा पुर्‍याउँदा त्यो संस्थाको बद्नाम हुन पुगेको हो ।

गुरुङले कतारमा सञ्चालन गरेको एसियाना दोहोरी साँझमा काम गर्न नेपालबाट लगेका युवतीहरुलाई तलब त परै जाओस्, पानी समेत खान नदिएर मानवअधिकार विरोधी व्यवहार गरेको विषय पीडितले सार्वजनिक गरेका थिए । शौचालयको पानी पिएर ज्यान बचाउँदै बल्लतल्ल नेपाल आउन सफल भएका तीन युवतीले विमानस्थलमा रुँदै प्रवीण गुरुङले दिएका सास्तीका बारेमा बताएका थिए ।

उनीहरुले गुरुङविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको थाहा पाएपछि उनले हतारहतार एनआरएनए मध्यपूर्वकका उपसंयोजक मनोज गोर्खालीमार्फत् ५ लाख रुपैयाँ दिएर केस मिलाएका थिए । तीनै युवतीहरु कलाकार थिए ।

उनीहरुलाई गुरुङले आकर्षक सेवा सुविधा दिने आश्वासन दिएर कतार लगेका थिए । तर खान समेत नदिए नेपाल आउन पनि ती कलाकारले आफन्तसँग सहयोग मागेर टिकट काट्नुपरेको थियो । प्रवीण गुरुङको शोषणमा परेका गायिका सना महर्जन, लोकदोहोरी गायिका निरुता विश्वकर्मा र डान्सर रेश्मा राई हुन् । उनीहरुले नेपाल आएपछि प्रवीण गुरुङको अत्याचारका बारेमा व्यक्त गरेका बिलौनाहरु युट्यूब र समाचारमा अहिले पनि हेर्न सकिन्छ ।

को हुन् प्रवीण गुरुङ ?

प्रवीण गुरुङ चितवनका हुन् । उनी सुन तस्करीमा समेत संलग्न रहेको आरोप लाग्दै आएको छ । सुन तस्कर गुप्तलाल भुसाल उर्फ रोशन र उनको व्यावसायिक साझेदारी छ । काठमाडौंको सामाखुसीमा उनीहरुले संयुक्तरुपमा विशाल कम्प्लेक्स निर्माण गरिरहेका छन् । गुरुङ र भुसालले सुन तस्करीबाट अर्बाैंको साम्राज्य खडा गरेका छन् ।

त्यसै मध्येको काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा निर्माणाधीन व्यापारिक कम्प्लेक्स पनि हो । साविक गोंगबु गाविस–५ ‘क’ २४९ को ३ रोपनी ८ आना ३ पैसा क्षेत्रफलको जग्गामा शान्दार कम्प्लेक्स गुरुङ र भुसालको हो । जुन कम्प्लेक्सको बारेमा सम्पत्ति शुद्धीकरणा अनुसन्धान विभागमा उजुरी पनि परेको स्रोत बताउँछ । यो कम्प्लेक्सको जग्गा मिलाउने काम प्रवीण गुरुङले नै गरेका थिए । गेम्जो गुरुङबाट प्रवीण गुरुङले भुसालसँग मिलेर उक्त जग्गा खरिद गरेका थिए ।

प्रवीण गुरुङले ४ वर्ष अगाडि कतारमा नेपाल आइडलको ग्राण्ड फिनाले गर्दा पार्टनर राखेका प्रदीपकुमार शर्मालाई पनि धोका दिएका थिए । ग्राण्ड फिनालेमा गुरुङले शर्मालाई एक करोडभन्दा बढी रकम ठगी गरेका थिए । शर्माले नेपाल प्रहरीमा गुरुङका विरुद्ध ठगीमा उजुरी दिएका थिए । एनआरएनएको गत वर्षको चुनावमा गुरुङ नेपाल आउँदा उनलाई एयरपोर्टमै पक्राउ गर्ने थाहा पाएपछि उनले अदालतमा रिट दायर गरी पक्राउ नगर्ने निषेधाज्ञा ल्याएका थिए।

एनआरएनको चुनावमा अन्तरिम आदेशका भरमा भाग लिएका गुरुङको अन्तरिम आदेशको अवधि सकिसकेको छ । अब उनी नेपाल आउँदा जुनसुकै बेला पनि पक्राउ पर्ने सम्भावना छ । गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त नियुक्त भएका जयबहादुर चन्दको नाम भजाएर प्रदीप शर्मालाई धम्की दिएको भन्दै प्रहरीमा उजुरी पनि दिएका थिए ।

त्यतिखेर हालका एसएसपी अशोक सिंह काठमाडौं परिसरका एसपी थिए । तर गुरुङले चन्दको पावर लगाई पक्राउ पर्नबाट जोगिएका थिए । गतबर्ष गुरुङबिरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ आदेश जारी गरिसकेको छ । त्यस्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनको अवैध सम्पत्तिमाथि छानबिन गरिरहेको विभागका एक अधिकारीले बताए । स्रोत नयाँ पेज

प्रतिक्रिया दिनुहोस