आठ वटा कोरोना खोप भण्डार गृह बनाउँदै सरकार

काठमाडौं । सरकारले ८ वटा स्थानमा कोरोना भाईरस ९कोभिड(१९० विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो।

प्रदेश नम्बर १ को राजधानी विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, बागमती प्रदेशको राजधानी हेटौँडास्थितमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिँदैछ।

त्यस्तै, लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ।

मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलका अनुसार प्रति भण्डारण गृह एक करोड २० लाखका दरले आठ वटा भण्डारण गृह निर्माणमा कुल ९ करोड साठी लाख रकम खर्च हुनेछ।

पौडेलका अनुसार प्रदेश नम्बर २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेश अन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ। बागमती प्रदेश, गणडकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सुचना प्रकाशन भएको पोडेलले बताए।

कार्यादेश दिएको २ महिनाभित्र निर्माण कार्य सम्पन्न भई प्रयोग गर्न मिल्ने बताइएको सो भण्डारण गृहहरुमा सम्बन्धित प्रदेशहरुका लागि आवश्यक खोप प्रदेशअन्तर्गत भण्डारण गृहमा राखिने तथा बाँकी खोप आवश्यकताबमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ

प्रतिक्रिया दिनुहोस