जनकपुर । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्याउनुभएको छ ।
प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए । दुर्घटनामापरी घाइते भएका चारै जनालाई प्रदेश प्रमुखले देख्ने वित्तिकै आफ्नो गाडी रोकी घाइतेहरूलाई गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाउनुभएको छ ।
डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएको उहाँ निकट स्रोतले जनाएको छ । प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने प्रतिक्रिया दिनुभएको छ ।
उनले भने, ‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ। प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ।’
उनले प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यक्ता रहेको बताए। देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाइ छ।
उनले भने, ‘देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ मा काम गर्ने सौभाग्य पाएको छु।विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउने कार्यमा बल पुर्याउने छु।