हिजो हाम्रो पार्टी फुटाइदिए, अब पीडा भोग्ने पालो प्रचण्डको : कमल थापा

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित छ।

यद्यपी औपचारिक रुपमा दुईटै समूह छुट्टै पार्टी भइसकेका छैनन्। प्रधानमन्त्री ओलीले आगामी बैशाखका लागि चुनाव घोषणा गरेका छन्।

प्रतिनिधिसभा विघटनबारेको मुद्धामा सर्वोच्च अदालतबाट फैसला आउँनै लाग्दा शुक्रबार प्रचण्ड-माधव नेपाल समूहले आकस्मिक रुपमा बैठक बोलाउँदै नेताहरुलाई नागरिकता सहित आउन ह्विप जारी गर्यो।

बैठकमा आगामी कदमबारे छलफल भएको थियो। अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेताहरुलाई ‘हाईअलर्ट’मा बस्न निर्देशन दिएका थिए। नेकपा विभाजनपछि ओली र प्रचण्ड-माधव समूहले सूर्य चिन्ह र आफ्नो समूहनै आधिकारिक रहको बताउँदै आएका छन्।

प्रचण्ड–नेपाल समूहले आफ्नो पक्ष मुल नेकपा रहेको प्रमाणित गर्न बहुमत सदस्यहरू आयोगमा नागरिकतासहित उपस्थित गराउने तयारी गरेको हो।
सो घटनाक्रमबारे टिप्पणी गर्दै राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टी फुटेको स्मरण गरेका छन्। त्यसबेला प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेपाली काँग्रेसको सरकार थियो।

सो घटना स्मरण गर्दै थापाले अध्यक्ष दाहाललाई यसरी ब्यंग्य गरेका छन्।

‘हामी पनि नागरिकतासहित निर्वाचन आयोग पुगेका थियौं, तर विना सनाखत, कानुनी विधि र प्रक्रिया नपुराई स्वयं प्रचण्डजी र कंग्रेसी नेताहरूको प्रत्यक्ष दबाबमा आयोग र अदालतले राप्रपा फुटाई दियो’, अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छ्न, ‘त्यसको पीडा हामी भोगी रहेछौं। अहिले पीडा भोग्ने पालो प्रचण्डलाई आएको हो कि?त्यस्तो नहोस्, मेरो शुभकामना’

प्रतिक्रिया दिनुहोस