बैतडी जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा प्रहरीले दिनेश भट्टले अपराध स्वीकारेको जानकारी दियो  । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा दिनेश बाहेक अरु कोही संलग्न नदेखिएको बताउनुभयो ।

दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताउनुभयो । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उहाँको भनाइ छ ।

‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ,’ उहाँले भन्नुभयो ।

प्रहरीले  १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गरी सार्वजनिक गरेको हो ।

भागरथीहत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी,एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायतहुनुहुन्थ्यो ।

यस्तो छ साविति बयान 

म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे ।
घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन। उनले पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।

दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । उनको, पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिएका थिए । पञ्चकुमार अब्बल अपराध विज्ञ मानिन्छन् । जिल्ला अस्पताल बैतडीले भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ । घटनाको प्रकृती हेर्दा पनि भागरथीको तल्लो अंगको वस्त्रहरु फुकालिएका छन् भने उनको यौनांगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ। ‘जिल्ला प्रहरी कार्यालयमा विस्तृत बयान भइरहेको छ, यी त सबै प्रारम्भिक बयानका आधारमा आएका कुरा हुन, ‘ती प्रहरी अधिकृतले भने ।

दिनेशको सोधपुछमा खटिएका प्रहरी अधिकृतले उनलाई कुनै पनि मानसिक र शारीरिक यातना नदिएर फकाएर बयान गराएको बताएका छन् । बयानमा सहभागी ती अधिकृत भन्छन्, ‘नाबालक हो, नाबालकलाई केही सजाय छुट पनि हुन्छ, भनेर फकाइयो। मंगलबार अबेर राती मात्रै साविति बयान दिए । उनी धेरै रोए, अनी घटना बारे भने ।’