काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा सोमबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग ब्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो तीन वर्षे कार्यकालमा पार्टीभित्रैबाट असफल भएपनि धेरै काम गर्न सकिएको बताएका हुन् ।
पार्टीका शीर्ष नेताहरुमा कुनै ठाउँमा खुट्टा टेक्दा केपि ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति देखिएको उनले बताए । प्रचण्ड–नेपाल पक्षले सभाहरुमा समेत १६ जना मान्छे लाइन लागेर सबैले एउटै ‘केपि ओली’ केपि ओली’ केपि ओली’ मात्र भन्ने गरेको तर देश र दुःख पाएका जनता नसम्झिएको उनले बताए । उनले निर्वाचनमा पार्टीलाई बलियो बनाउनुपर्नेमा व्यक्तिको स्वार्थका लागि पार्टी फुटाउने चेष्टा भएको तर्क गरे ।
प्रधानमन्त्री ओलीले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीहरूलाई आह्वान पनि गरे । प्रधानमन्त्रीले कोभिड- १९ का कारण प्रतिकुल असर परेका बेला कुनै कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने समेत बताए ।
त्यस्तै परराष्ट्रमन्त्री एवं नेकपा ओली पक्षका नेता प्रदीप ज्ञवालीले देश बदल्न भन्दा पनि कुर्सी बदल्न नेताहरुको ध्यान केन्द्रीत भएकाले ताजा जनादेशमा जान परेको बताए । त्यस्तै ऊर्जामन्त्री एवं नेकपा ओली पक्षका नेता टोप बहादुर रायमाझीले पार्टीलाई एकतावद्ध गर्ने एजेण्डा भएपनि नेताहरु पदका लागि लडाई गरेको तर्क गरे ।
त्यस्तै अन्य नेताहरुले आगामी निर्वाचनमा बहुमत दिलाउन पार्टीलाई शसक्त ढंगले अघि बढाउनुपर्ने धारणा राखेका थिए ।