विद्यालयमा शिक्षक छन् तर विद्यार्थी छैनन्

वीरगञ्ज । बारा सदरमुकाम कलैयाबाट करिब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ। यो सत्य हो।कलैयाको महागढीमाई नगरपालिका-४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ । सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरेका छन्।

विद्यार्थी नहुँदा शिक्षक विद्यालय आएर हाजिर लगाएर जाने गर्छन्। विद्यालयमा विद्यार्थी नभए पनि त्यहाँ रहेका शिक्षक भने तलब भत्ता खाएर दिन बिताउने गरेको र विद्यालयको अनुगमन नहुँदा विद्यालयमा एक विद्यार्थी पनि नभएको प्रधानाध्यापक शर्मानन्दप्रसाद साहको गुनासो छ।उनले विद्यालयमा विद्यार्थी भएको कुनै रेकर्ड नै नभएको समेत बताए। विगत लामो समयदेखि राजनीतिकको अखडाका रूपमा विद्यालय रहेकाले पठनपाठन प्रभावित हुने हुँदा विद्यार्थीको उपस्थिति नभएको गुनासो स्थानीयवासीको छ। पटक/पटक विद्यालय सुधारका लागि स्थानीय निकाय, वडा कार्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराउँदासमेत कसैले विद्यालयप्रति चासो नराखेकाले यस्तो अवस्था आएको हो।

विद्यालय स्थानीय तहमा आएपछि शिक्षा क्षेत्रमा देखिएको समस्याबारे जिज्ञासा राख्दा महागढीमाई नगरपालिका शिक्षा विकास शाखाका प्रमुख रामविश्वासप्रसाद चौरसियाले सो विद्यालयका प्रधानाध्यापक साहको कमी कमजोरीका कारण विद्यालयमा विद्यार्थीको सहभागिता न्यून रहेको बताए। सो विद्यालयलाई चैत महिनासम्ममा विद्यार्थी जुटाउन आदेश दिएको र सो समयमा विद्यार्थी जुटाउन नसके विद्यालयलाई समायोजन प्रक्रियामा लग्ने नगरपालिकाले जनाएको छ। विद्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कागजात लगेकाले त्यहाँबाट केही निर्णय नआएसम्म कुनै कदम चाल्न नसक्ने नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताए। रासस

प्रतिक्रिया दिनुहोस