प्रेम दिवस स्पेसल : रोमान्टिक ‘भ्यालेन्टाईन डे’

काठमाडौं । कुनै कुरा पाउनु भन्दा त्यसलाई टिकाउनु मुश्किल पर्दछ। त्यस्तै प्रेम दिवस मनाउनु भन्दा पनि कसैलाई पे्रम गरी जिन्दगीभर त्यो प्रेमलाई निभाउनु कतिको मुश्किल छ भन्ने कुरा बुझ्नु जरुरी छ। मन परेको साथीसँगका धेरै कुरा सार्वजनिक गर्ने र सानो कुरामा चित्त नबुझ्दा दुश्मनी सुरु गर्नेहरूले साथीको मुख हेर्न मन छैन भन्दै ब्लक गरिदिएको पनि हामीले दिनहुँ देख्न सक्छौ।

सामाजिकिकरण हुने समयमा हामी सामाजिक सञ्जालीकरणको कुलतमा फसेका छौं। जसले हामीलाई नसेडी जस्तो बनाएको छ। सामाजिक सञ्जाल र हाम्रो क्रियाकलापले हाम्रो प्रेमलाई हल्का र फिक्का त बनाई दिएको छैन ? एक पटक त्यो सोच्न पनि जरुरी छ। प्रेम अरुलाई देखाउन र बदला लिनको लागि गरिने कुरा होईन यो त्याग हो जो सधैँ एकजना सँग हुन सकोस। सँगै बसेका साथीको सन्चा बिसन्चोको अवस्था नबुझ्ने हामीहरू सामाजिक सञ्जालमा प्रेम दिवसको ठुला भाषण दिन्छौं। साँच्चिकै एक अर्कालाई प्रेम गर्नेहरूले आफ्नो समय एक अर्कामा समर्पित गर्दछन् न कि सामाजिक सञ्जालमा खर्च गर्दछन्।

प्रेम एउटा सुन्दर अनुभूति हो। मानिसलाई चाहिने अत्यन्त आवश्यक कुराहरु मध्य प्रेमपनि पर्दछ।जिन्दगीको लामो यात्रा प्रेमबिना असम्भव छ। तर कतिपय ठाउँमा प्रेमको दुरूपयोग भएकोपनि पाईन्छ।

प्रेम गर्न कुनै उमेर तोकिएको नभएतापनि अल्लारे उमेरमा गरेको प्रेमले जिवनको अन्त्य समेत गर्न सक्छ। त्यसैले प्रेम के हो र प्रेममा के हुनुपर्दछ भन्ने कुरा बुझेर मात्रै प्रेम गरेमा जीवन सफल र सुखी हुन सक्छ।प्रेम जहाँ जतिबेलापनि हुन सक्छ। त्यसैलेपनि भन्ने गरिन्छ ‘प्रेम अन्धो हुन्छ’। साँचो प्रेम एक आपसमा अपरिहर्य नै मानिन्छ। प्रेमको परिभाषा हरेक व्यक्ति अनुसार फरक हुन्छ। वास्तवमा भन्ने हो भने प्रेम दुई आत्माको संगम हो।

जहाँ प्रेम साँचो र निस्वार्थ हुन्छ त्यहाँ जिवन सुखी र सफल हुन्छ। प्रेमको मतलब हासिल गर्नु मात्र नभई त्यागपनि हुन सक्छ। प्रेममा जात, धर्म, श्रेणी केही हुदैंन । प्रेमकोलागि केवल दुई मन मिल्न जरुरी छ। हुन त प्रेमकोलागि उपयुक्त समयको जरुरी पर्दैन तरपनि प्रेमलाई भिन्दै किसिमले प्रसफुटन गराउन ‘भ्यालेन्टाईन डे’ अर्थात् ‘प्रणय दिवस’ मनाउने गरिन्छ।

‘भ्यालेन्टाईन डे’ को लागि भनेर त्यस्तो सार्वजनिक बिदा नभएपनि यो पर्व हरेक वर्गका मानिसले मनाउँदै आईरहेका छन्। युवा अवस्थाका मानिसमा यसको रुचि बढी भएको पाईन्छ। यो पर्व पश्चिमी संस्कृतिबाट सुरु भएपनि नेपालमा समेत यो पर्व मनाउने गरिन्छ।त्यति मात्र नभई आजभोलि फेब्रुअरी ७ तारिखका दिनदेखि नै प्रेम सम्बन्धी उत्सव मनाउने गरिन्छ। त्यसैलेपनि फेब्रुअरी महिनालाई प्रेमको महिनापनि भन्ने चलन छ।
तर सबैभन्दा महत्वपूर्ण र विशेष दिन फेब्रुअरी १४ को ‘भ्यालेन्टाईन डे’ अर्थात् प्रेम दिवसलाई मान्ने गरिन्छ। त्यस दिन प्रेमि प्रेमिकाले एक आपसमा उपहार आदान प्रदान गर्ने गर्छन् भने प्रेमि प्रेमिका नहुनेले आफूलाई मन पर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्न यो उपयुक्त समय मान्छन्। यस दिन जोडिहरु मिलेर घुम्न जाने र एक आपसमा समय बिताउने गर्दछन्। आफ्नो व्यस्त जिवनशैलीबाट समय निकालेर एक अर्कासंग दुख सुख बाड्नलाई यो दिन निकै राम्रो मानिन्छ।

यस्तै एउटा कथा सार्वजनिक गर्दै छु यो कथा कसैको जीवनमा मिल्न गए संयोग मात्र हुनेछ यो काल्पनिक कथा मात्रै हो

खोइ कहाँबाट सुरु गरुम, हरपल मेरो नजर वरीपरी घुमिरहने तिम्रो सुन्दर प्रतिविम्ब । हुन त अहिले इमेल र फेसबुक अनि भाईबरदेखि उई च्याट सम्मको जमानामा यो मेरो प्रेम कथा को कुनै अर्थ र मान्यता हुन्न होला तर पनि यो मनको भाबनाहरु तिम्रो सामु मैले ब्यक्त गर्नु नै पर्छ। मेरी सपनाकी राजकुमारी नानु, मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन काफी छ । मलाई बचन देउ र आफ्नो पत्रमा वा फेसबुक र भाईबरमा भए पनि प्रेमका मीठा–मीठा सपनाहरु केरेर पठाउ ।

यदि यसो गर्न उचित देख्दैनौं भने मेरी मायाँलु मलाई सिधा–सिधा आफ्ना मीठा भावना गरिदेउ र आफ्नो हृदयको ढोका खोली देउ । नत्र उई च्याट वा इमेलमा नै भए पनि मलाई उत्तर देउ। हो नानु, जबदेखि हाम्रो कुरा हुन थाल्यो,त्यसपछिका हरेक पलहरु हाम्रो लागि त्यतिनै महत्वपुर्ण छ । साथै लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा–हात समाएर सहारा दिने कसम खाँदै गएका छौ। मैले दुवैको एउटै गन्तव्य सम्झेको छु । तर तिमीले यसरी सोचेकी छौं कि छैनौं ? मलाई यसबारेमा केही पनि थाहा छैन ।

तिमीले अर्कैतर्फ गन्तव्य सोझाउने कुरा त म सोच्न सम्म पनि सक्दिन् । यदि बदल्ने पक्षमा पुग्यौं भने पनि मेरो कुनै दुखेसो रहने छैन । यदि तिमीले त्यस्तो कठोर निर्णय लियौं भने भनेपनि म हेर्दछु टाढासम्म । तिमी मुस्कुराएर अघि बढ्दै जानु । म तिम्रो छायाँ देखिञ्जेलसम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडेपछि भित्रि आत्माले हेरुलाँ । तिमी बाँचुञ्जेलसम्म, आकाश धर्ती रही रहेसम्म नानु ।

यदि अघि बढ्न सकिनौ भने पुनः पछाडी फर्कनु,जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिका निर्वाह गर्न तम्सिरहेको मान्छे हाजिर हुनेछ । अनि म तिम्रो प्रतिक्षामा कुरिरहने छु । त्यो तिम्रो मुटु माझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको विउ रोपी सकेको छु । तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ । त्यसैले तिमी समक्ष तिम्रो जीवन र तिम्रो माया भिक्षा मागीरहेको छु ।

आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात फर्काउने छैनौं । तिमी मेरो हृदयमा अजम्वरी भई बसेकी छौ । तिम्रो त्यो अतुलनिय एंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलो भेटमा नै मलाई मोहोनि लगाएको छ ।

जुन दिन तिमीलाई देखे जति बेला तिमि लाई अँगालोमा बाधेर न्यानो मायाको अनुभूति पाए सोहि दिनदेखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ । त्यसैले त आज मनका भावनालाई तिमी सामू छर्लङ्ग पार्न यो पत्र लेख्दै छु । आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्ने छ ।

कता–कता डरपनि लाग्दैछ । अव तिमी नै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिर आफुलाई नै विर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई सधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल तिमीसँग ।

तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाई धेरै माया गर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ । त्यसैले त तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा एक छिन कुरा गर्न नपाउदा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धड्कन तिमी जे सम्झ मलाई यो पत्रलाई पागलपनको झंकार नै किन नसम्झ ।

तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अव तिमी नै भन नानु अव म के गरौ रु ? जे होस तिमीलाई आफ्नो सम्पूर्ण जिवन सम्झेको छु र आफुले आफुलाई तिमि प्रति समर्पित गरेको छु। तिमीले यसलाई मेरो माया लाई पागलपन सम्झ या त घृणा नै सम्झियौ भने पनि म त्यसलाई तिम्रो चोखो प्रेम र मायाको प्रसादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछ की तिमी त्यती निष्ठुरी वन्ने छैनौं र मलाई छोडेर टाडा सात समुन्द्र जाने छैनौ। तिमीले मेरो निश्लल र पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् ।

नानु तिम्रो दिलमा मैले तमासुक लेखिदिइसकेको छु । साथै मैले तिम्रो मुटुमा लगाइदिई सकेको छु सहिछाप। प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी जिन्दगी सघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघंष लुकेको हुन्छ र दुखपनि । आज तिमि म बाट टाडा हुदा धन सम्पत्ति ऐश्वर्यको एहसास त मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि गरिब बन्न पनि सक्छ।

तर प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ । यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे नै सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु मात्र तिम्रो लागि नानु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु । वास्तविकतामा प्रेम मीठो अनुभुति हो ।

उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भाबना हरु मिल्दै गए पछि थाहै नपाइ प्रेम वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त भावनापनि हो । प्रेम एकआत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदोरहेछ । साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो ।

तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुर्इ आत्माको मिलन हो त्यही मिलनबाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ। कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो । मेरो मान्यता छ मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस भएको छ।

प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा वयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ । पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ ।

सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु जुन पुरानो प्रणाली हो तरपनि मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र ? त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ । यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ प्रेम। यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म मा सहने क्षमता त छैन तर पनि “तिमी ले मलाई साथ दिनै पर्छ, माया गर्नै पर्छ ” भनेर जर्वजस्ती गर्ने म मा सामथ्र्य छैन र सो कार्य गर्न मेरो नैतिकताले पनि दिदैन किनकि मैले तिमिलाई बुझेको छु अनि तिम्रो परिस्थति संग ज्ञात पनि छु।

‘तिमीले मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपया मलाई घृणा पनि नगर ल ।’ हुनत तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ र प्रेम ले नै मानिसलाई बदल्छ । तिम्रो जिन्दगीको बागडोरको चाबी तिमीसँगै छ । त्यसैले तिमी आफ्नो निर्णय आफै गर्न सक्छौ ।म तिमि लाई मलाई छोडेर कतै नजाउ त भन्न सक्दिन किन
भने तिमि अहिले जुन ठाउँ मा उभिएर मलाई माया गरि रहेको छौ त्यो अत्यन्तै कठिनाई पूर्ण छ । हो त्यहि भएर त्यो नै मेरो लागि महान हो नानु….

तिमि मेरो आदर्श हौ साच्चै भन्दा तिमि ले नै मलाई दोस्रो जिबन दिएको हौ यो कुरा तिमिलाईपनि राम्रो संग थाहा छ । तिमी वास्तबमा सच्चा, इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हौ । तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अव म के गरौं ? तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई र आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देउ । यदि तिमीलाई म माथि शकां र सन्देहको कुनै छाँया सम्म छ भने अस्विकार गरिदेउ ।

भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ रुउम के ? नेपाल छोडेर युरोप अमेरिका जाने साथ सबै समस्याको समाधान होला त के त्यो ठाउँमा दुखनहोला त के सुख मात्र पाउन सकिन्छ त ? दुख पक्कैपनि छ हो जुन पिडा तिमि लाई परेको छ ।

त्यही पिडा भुल्न अनि एउटा सुन्दर भबिस्य निर्माण गर्नको लागि मात्र तिमिले यस्तो गर्न खोजेको हो। म तिमि लाई बुज्छु, तिम्रो पिडा भनेको नै मेरो पिडा हो यहि कुराले हरपल यो मन रुन्छ । तिम्रो सम्झनामा हामीले बिताएको हरेक पलहरु मेरो आखा अगाडी नै घुमिरहेको छ । तिमि जहाँ गएपनि जहाँ भए पनि म त्यहि हाम्रो मायाको साहारामा बाच्नेछु केवल तिमि फर्की आउने आश लिएर मेरो पुरा जिवन तिम्रो नाम मा समर्पित गर्ने छु ।

सम्झ त एकछिन तिमी पुरा मेरी वन्न सकिनौ भने मेरो माया कति निसासिन्छ । मेरो जिन्दगी कति निरास बन्न पुग्छ होला भनेर तिम्रो हृदयले जे लेख्छ, के बोल्छ, त्यही मलाई उत्तर देउ । म तिम्रो प्रतिक्षामा कुरिरहने छु । यो लेख देख्नासाथ तिमिलाई अनौठो त पक्कै पनि लाग्ला तर पनि यसलाई तिमि ले अमिट माया सम्झेर हृदय भरी मुटु भरी राख्न पनि सक्छौ र अनि मलाई जिवन भरि साथ दिने बाचा पनि गर्न सक्छौ या त मेरो मायालाई यतिकै छोड्न पनि सक्छौ अन्तिम मा फैसला ततिम्रो नै हात मा छ।

जुनसुकै परिस्थिति मा पनि म तिमि लाई माया गर्ने छु इज्जत दिने छु र सधै भरि मेरो हृदय मा सजाएर राख्नेछु । तिम्रो यो जिवनको सहयात्री अञ्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखि तिमि लाई नै कुरेर जिबन व्यतित गर्ने छ । तिमिलाई नै पर्खेर बस्ने छ। हरेक जोडीको प्रेम र दाम्पत्य जिवन सफल रहोस्। सबैलाई प्रणय दिवसको शुभकामना!
कृपया कसैको जिबनसँग मिल्न गएमा क्षमाप्रार्थी छौँ ।

प्रतिक्रिया दिनुहोस