ओलीले पशुपतिनाथको नाम जपेर पाप पखाल्न सक्दैनन् : माधव नेपाल

काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताएका हुन्।

‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ। अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ। अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ, नेता नेपालले भने, तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ। पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन्। अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न। केपी ओलीलाई चेतना भया।’

देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताए । ‘केपी ओलीको शासनकालमा ७ हजार १७० नेपाली चेली बलत्कृत भएकी छन्। ती चेलीहरुको आत्मकाले ए, ओली तिमीले कतिजनालाई सजाए दिएका छौँ भनेर प्रश्न गरेका छन्। तिमिजस्ता मान्छेलाई पार्टीले त्यो पदमा पुर्‍यायो तर तिमीले लोकतन्त्र समाप्त पार्न लागेका छौं। तिमिलाई धिक्कार छ। आम नेपाली जनताले भनेका छन्। केपी ओलीलाई धिक्कार छ। पशुपतिनाथले पनि भन्लान केपी ओलीलाई धिक्कार छ, नेता नेपालले भने।’

ओलीको बत्ती बालेर पापलाई त्यत्तिकै धोइपखाली गर्न नसकिने अध्यक्ष नेपालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस