अब ओली कागजी बादशाह ढलेको घोषणा गर्न मात्र बाँकी: नेतृ झाँक्री

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले सर्वसत्तावादका विरुद्ध बोल्न कसैले रोक्न नसक्ने बताएकी छन् । प्रतिनिधिसभा विघटनकाविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै झाँक्रीले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइने बताएकी हुन् ।

उनले राष्ट्रपति प्रधानमन्त्रीको सहायक बन्दै निरंकुशताको प्यादा बनेकाले आफूले विरोध गरेको र विरोध गर्न पाइने बताइन् । उनले भनिन्, ‘कार्यकारी प्रधानमन्त्रीको असिस्टेन्टको काम गर्ने सम्माननीय राष्ट्रपति जो संस्था हाम्रो बलिदानीले बनेको संस्था हो । त्यो संस्थामा गएको व्यक्ति निरंकुशताको प्यादा बन्छ भने त्यसकाविरुद्ध बोल्न पाइन्छ । एउटा खलपात्रका विरुद्ध बोल्दा कहाँ महिला अस्मितामाथि प्रहार भएको छ ?’

आज दरबारमा जसरी रजाइँ गर्नेहरु हिजो कहाँ थिए भन्ने कुरा जनतालाई थाहा भएको भन्दै उनले केपी ओली कागजी बादशाह भएको बताइन् । उनले अब कागजी बादशाह ढलेको घोषणा गर्न मात्र बाँकी रहेको बताइन् ।

उनले भनिन्, ‘बन्दकोठाभित्र भएका सेटिङकाविरुद्ध बोल्न पाइन्छ । नागरिकको बोल्न पाउने अधिकारलाई बोल्न पाइन्छ । यो हामीले ल्याएको व्यवस्था हो । आज दरबारमा जस्तै रजाइँ गर्नैहरु कहाँ थिए ? जनतालाई थाहा छ । हजारौंको बलिदानीपूर्व ल्याएको व्यवस्थालाई च्यातचुतपार्ने विरुद्ध बोलेका हौं । खड्ग ओली कागजी बादशाह हुन् ढलिसके अब घोषणा गर्न बाँकी छ ।’

उनले हजारौंको बलिदानीबाट प्राप्त भएको संविधानविरुद्ध कोही जान नसक्ने बताइन् । उनले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना नगरे न्यायालयको औचित्य समाप्त हुने चेतावनी दिइन् । उनले खड्गप्रसाद ओली व्यक्ति नभई संस्कृति र प्रवृत्ति भएको भन्दै खड्गप्रसाद ओली प्रवृत्ति नदोहोरिने प्रतिज्ञा गर्न नेताहरुलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस