काठमाडौं । भारतले पठाएको खोप लिएर एयर इन्डियाको जहाज नेपाल आइपुगेको छ । नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट उडेको जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपालस्थित भारतीय दूवातासले जानकारी दिएको छ ।
एयर इन्डियाबाट नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिने छ ।
विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको विमानस्थल स्रोतले जनाएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले भारतले दिएको १० लाख डोज खोप जोखिम क्षेत्रमा खटिनेहरुका लागि दिइने जानकारी दिएका थिए ।
उनले चिकित्सक, प्रहरी, सफाइ कर्मचारीहरुमा पहिलो चरणमा खोप लगाइने बताए । उक्त खोप आज भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।