काठमाडौँ । भारतको विदेश मन्त्रालयले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आजबाट कोरोना विरुद्धको भाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई आजबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ।
मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताए पनि परिमाण भने खुलाएको छैन । नेपाल सरकारले भने कति परिमाणमा खोप आइपुग्छ भनेर केही बताएको छैन ।
अघिल्लो साता नेपालको औषधी व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
नेपालले भने ६० लाख जनसंख्याको लागि कोभिसिल्ड भ्याक्सिनको माग गरेको छ । भारतीय विदेश मन्त्रालयले भने आन्तरिक माग पूरा हुने निश्चित भएको कारणले मात्र छिमेकी मुलुकलाई खोप उपलब्ध गराउने उल्लेख गरेको छ।