अनि ओलीलाई विवाह गर्ने चाहना हरायो

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ?’

यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले भनिन्, ‘खै अब त के विवाह गरिएला र मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।

एक समय थियो । जब उनले स्कुलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको विवाहमा गइन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् । त्यति बेला उनले पनि बेहुली बनेर श्रीमानको घरमा जाने कल्पना गरेकी थिइन्, ‘अझ बेलुका पक्षका केही केटाहरूले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्रस्तावसँगै राखेका थिए ।

त्यतिबेला मलाई जीवनमा बेहुली त बन्नैपर्छ जस्तो लागेको थियो ।’ ती साथीलाई अन्माएर बेहुलासँग पठाउँदा साथी रोएपछि उनलाई केही नमज्जा पनि लाग्यो । तर, त्यसको केही दिनमै आफ्नो साथीलाई श्रीमानले औधी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चाहना जागेको थियो ।

स्कुले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्यस्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिकासमेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबाआमासँग मेरो विवाहको कुरा चलाए । तर, म यता काठमाडौंमा खेलकुद र गायनमै व्यस्त रहेको कारण ती लमीहरूको चाहना पूरा हुन सकेन ।’

अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर, उनलाई अब विवाहप्रति चासो छैन ।

त्यस समय गायिका कोमल ओलीलाई माया गर्नेहरू धेरै थिए, ‘धेरैले माया गर्छु भन्थे । तर, म उनीहरूलाई साथीको रूपमा लिन्थें ।’ सोही कारण त्यतीबेला आफूले केटाहरूलाई मरिहत्ते गरेर प्रेम नगरेको पनि यी गायिकाले बताइन् ।

कोमल ओलीको भनाइमा त्यतिबेला फोन तथा मोबाइलको जमाना थिएन । आफूलाई मन पराउनेहरूले पत्रमित्रको रूपमा चिठ्ठी पठाउने गरेको यी गायिकाको कथन छ, ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनुहुन्छ भन्थे । अझ म २०५० सालबाट रेडियो नेपालमा समाचार वाचिकाको रूपमा अनुबन्धित भएपछि त मन पराउँछु भन्नेहरूको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन।’

त्यतिबेला आएका चिठ्ठीहरू अझै केहीप्रति आफूूसँग भएको पनि उनले बताइन् ।एउटा चिठ्ठीको एक लाइनले यी गायिकाको जीवनको यात्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कुराकानी हुने गरेको उनले बताइन् । तर, साथीको रूपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चिठ्ठीमा विवाह गर्न उनलाई साह्रै जिद्धी गरे । तर, कोमल मानिनन्, ‘तिम्रो जीवन नाविकबिनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठक्कर खाला अनि मात्र तिमीले थाहा पाउला ।’

यसरी विवाह नगर्दा दुःख पाइने संकेत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन्, ‘त्यतिबेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्यन्त व्यस्त भइसकेको थिएँ । अब मैले आफूलाई कत्तै ठक्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताएकी छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस