काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीछ जनताले बनाएको प्रधानमन्त्री नभएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।
‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो तरु सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो,’ प्रचण्डले काठमाडौंमा आज आयोजित राष्ट्रिय युवा संघको बैठकमा भने।
प्रचण्डले भने, ‘केपी ओलीजीले ठूलो षड्यन्त्र गरेका छन् । संविधानमाथि प्रहार भएको छ । हामी आक्रामक हुनुपर्ने देखिएको छ ।असंवैधानिक रुपमा संसद विघटन गरिएपछि हामी पक्कै पनि गम्भीर स्थितिमा छौँ । हाम्रो आन्दोलन पनि आवेग र आक्रोशका साथ अलिकति जुझारु हुन जरुरी छ ।’
प्रचण्डले दुई तिहाइ केन्द्रीय कमिटी आफूहरुतिर रहेकाले नेकपा र सूर्य चिन्ह आफूहरुले नै पाउने दाबी गरे । ‘नेकपा हाम्रो हो र सूर्य चिन्ह पनि हाम्रै हुनेछ’ उनले भने- ‘यो विषयमा तपाईंहरु द्विविधामा बस्नु पर्दैन ।’