सबैको प्रिय पर्व माघे संक्रान्ति

काठमाडौं । माघे संक्रान्तिलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । यसलाई फरक–फरक समुदायमा भिन्न नामले पुकारिन्छ । मैथिल र थारू समुदायमा यसलाई नयाँ वर्षका रूपमा मनाउने गरिन्छ । माघ १ गते मनाइने यस पर्वलाई येले दुंगका रूपमा समेत लिइन्छ । थारू समुदायमा सुँगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । नेवारी समुदायमा भने घिउ र चाकु संल्हु नामले माघे संक्रान्ति मनाइन्छ ।

उनीहरूले चाकुमा तिल मिसाएर बनाइएको लड्डु खान्छन् । साथै, यो दिन दान दिने चलन पनि छ । माघीको दिन काभ्रेको पनौतीमा मकर मेला लाग्छ । उक्त मेला लिच्छवीकालीन राजा मानदेवको पालादेखि सुरु भएको मानिन्छ ।माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । तारो हान्ने खेल यो समुदायमा प्रचलित छ । तीन दिनसम्म लगातार पितृ र चेलीबेटीको पूजासमेत गरिन्छ । साथै, क्षेत्री, बाहुन, राई, लिम्बू, गुरुङ आदि सबै समुदायले माघे संक्रान्तिलाई आ–आफ्नो परम्पराअनुसार मनाउने गर्छन् ।

धार्मिक विश्वास

भीष्म पितामहलाई इच्छामृत्युको वरदान थियो । युद्ध गर्ने क्रममा अर्जुनका वाणले उनको शरीरमा सर्वत्र छेदन भयो । यसरी भीष्म पितामहको इच्छामृत्यु माघे संक्रान्तिकै दिन भएको महाभारतमा उल्लेख छ । यसर्थ, आजको दिनलाई पवित्र मानी विभिन्न घाट, नदी तथा पवित्र स्थलमा स्नान गर्ने चलन छ । माघी नुहाइसकेपछि सुकेको तिलको बोट बालेर आगो तापेमा पापमोचन हुने विश्वास छ ।

माघीमा यस्ता खानेकुरा

माघे संक्रान्तिका दिन घिउ, तरुल, चाकु, खिचडी आदि परिकार खाइने प्रचलन छ । माघी नुहाइसकेपछि घिउ, चाकु, तिलको लड्डु, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सीदा दान गरेमा विशेष फल प्राप्त हुने मान्यता छ । माघी पर्वलाई धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत हेरिन्छ । यस दिन स्नान वा घर–आँगनको सरसफाइ नगरे सात जन्मसम्म रोगी र निर्धन भइने किंवदन्ती छ ।

किन खाइन्छ तिलको लड्डु र खिचडी ?

माघे संक्रान्तिमा तिलको लड्डु, घिउ, चाकु, तरुल र खिचडी खाने प्रचलन छ । यसरी विशेष खानेकुरा खानुका पछाडि विभिन्न किंवदन्ती पाइन्छ । श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार भगवान् सूर्यदेवमा क्रोध उत्पन्न भयो । उनले क्रोधका कारण पुत्र शनिदेवको कुम्भ जलाइदिए । यसकारण शनिदेवले धेरै दुःख पाए । उनको राशि कुम्भ पूरै जलिसकेकाले उनीसँग कालो तिल मात्रै बाँकी रह्यो । यसर्थ, शनिदेवले पिता सूर्यदेवलाई खुसी पार्नका लागि कालो तिलले पूजा आरधना गरे । त्यो माघे संक्रान्तिको दिन थियो ।

पछि सूर्यदेव प्रसन्न भए र शनिको घर मकर राशिमा प्रवेश गराई धनधान्यले पूर्ण हुने वरदान दिए । यसरी मकर संक्रान्तिका दिन कालो तिलको विशेष महत्व हुन थालेको हो ।
पौराणिक कथाहरूमा उल्लेख भएअनुसार खिचडी भगवान् शिवले आविष्कार गरेका थिए । शिवका अवतार मानिने गोरखनाथ बाबाले सजिलोका लागि आफ्ना सैनिकहरूलाई खिचडी बनाउन लगाएका थिए । यसरी पकाउन सजिलो, स्वादिष्ट हुने तथा शरीरलाई ऊर्जासमेत दिने भएकाले यसलाई विशेष रूपले खान थालियो ।

वैज्ञानिक कारण

माघीमा खाइने खाद्यपदार्थ आयुर्वेदसँगै चिकित्साशास्त्रमा पनि स्वास्थ्यका लागि उपयोगी मानिन्छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढ्ने गर्छ । मास हालेर पकाइएको तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त भइन्छ । साथै, छालासम्बन्धी रोगहरूबाट समेत राहत मिल्छ ।

माघे संक्रान्ति किन मनाइन्छ त ?

हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ ।

माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ ।माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ ।

तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ ।यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।

माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।

माघे संक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने हो । खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पुर्‍याउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ । तर, यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । अरुबेला कसको भान्साम के पाक्छ भन्ने थाहा हुन्न । यतिबेला एकआपसमा बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।

प्रतिक्रिया दिनुहोस