पत्नी सीतालाई भारतमै छोडेर अध्यक्ष प्रचण्ड आज स्वदेश फर्कदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्कंदै छन् ।

आज (शनिबार) दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेको प्रचण्डको सचिवालयले जनाएको छ । पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत भएका प्रचण्ड ५ दिनपछि स्वदेश फर्कन लागेका हुन् ।

दाहालको अहिले मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ । दाहाललाई यसअघि उपचारका लागि प्रचण्डले २०७५ साउनमा सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगेका थिए ।

सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो । त्यसपछि बिभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि उनको स्वास्थ्यमा सुधार भएको छैन ।

२०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो । यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा लगेर आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो । भारत लानुअघि पनि दाहालको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस