काठमाडौं । गृहमन्त्रालयले एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेसँगै गृह मन्त्रालयले एक लाखको संख्यामा म्यादी प्रहरीको भर्नाका लागि आवश्यक तयारी गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
प्रहरीको संख्या कम भएकै कारण प्रतिनिधिसभाको निर्वाचन सुरक्षितरूपमा सम्पन्न गर्न वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्नु प्रमुख कारण हो भने एकै दिनमा निर्वाचन सम्पन्न गर्न अहिलेको प्रहरीको संख्याले नभ्याउने देखिन्छ ।
सशस्त्र प्रहरी वल र नेपाली सेनाले भीआईपीको सुरक्षा, निर्वाचन स्थल तथा मतदान केन्द्रको बाहिरी घेराको सुरक्षा, विशेष स्थानको सुरक्षा, विमानस्थल र अन्य महत्त्वपूर्ण स्थानको सुरक्षामा ध्यान दिनुपर्ने हुँदा म्यादी प्रहरी एक लाखको संख्यामा भर्ना गर्नुपरेको हो।
निर्वाचन आयोगले मतदानस्थलको संख्या घटबढ गरे खटिने सुरक्षाकर्मीको संख्या तल–माथि भने हुन सक्ने छ ।
नेपाल प्रहरीमा हाल ७० हजारको दरबन्दी भए पनि प्रहरीको सख्या ६३ हजार मात्र छ। यस मध्ये पनि प्राविधिक जनशक्ति र कति खट्न नसक्ने जनशक्ति पनि पर्छन् । त्यस कारण निर्वाचनमा बढीमा ५५ हजार प्रहरी मात्रै खटाउन सकिने अवस्था छ ।
निर्वाचनमा एक लाख म्यादी प्रहरीबाहेक निर्वाचनको सुरक्षाको लागि एक लाख ३९ हजार ६०० सुरक्षाकर्मी आवश्यक पर्ने हुनाले ४५ देखि ५० हजार प्रहरी, २५ देखि २८ हजार सशस्त्र प्रहरी, ६० हजार नेपाली सेना र १६ सय राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने तयारी रहेको छ। निर्वाचनको लागि केही गाडी र सञ्चार उपकरण थप आवश्यक पर्नेछ ।