काठमाडौं । भनिन्छ-राजनीतिमा कोही पनि स्थायी मित्र र शत्रु हुँदैनन्। देशको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले विभाजित भइसकेको छ। अनि नेकपाका शीर्ष नेताहरुले हिजोसम्म एउटै दलमा रहेका नेताहरुमाथि व्यापक टिप्पणी र आलोचना गर्न थालेका छन्। केही दिन अघिसम्मको राजनीतिक मित्रता अब प्रष्ट रुपमा देखिएको छ, राजनीतिक शत्रुतामा परिवर्तन भइसकेको छ।
हामी जनतालाई अहिले नेकपाका नेताहरुले गरेका भाषण पक्कै रमाइलो लागिरहेको छ। नलागोस् पनि किन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालले एकअर्कालाई दोषारोपण गर्दै भाषण गरिरहेका छन्। तीन वर्षअघि प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रमा चुनावी गठबन्धनमा अगाडि बढेका थिए।
त्यति बेला पनि यी शीर्ष नेताहरुले भाषण गरेका थिए। फरक के थियो भने त्यति बेला यी सबै नेताले एक अर्काको प्रशंसामा शब्द खर्चिएका थिए।
अब प्रतिनिधि सभा विघटन गरेर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मध्यावधि निर्वाचन गर्न खोजिरहेका छन्। उनले भनेको समयमा निर्वाचन सम्भव होला या नहोला, त्यो अर्को पाटो, तर यही कारण तीन वर्षअघि एकीकरण भएर बनेको नेकपा चाहिँ विभाजित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसँगै सुरु भएको फाटोसँगै नेकपामा एकअर्कालाई दोषारोपण गर्ने श्रृङ्खला पनि बढ्दो छ। एकअर्कालाई आलोचना गर्ने र व्यंग्य गर्ने सिलसिलामा सबैभन्दा अगाडि देखिएका छन्, प्रधानमन्त्री केपी शर्मा ओलीले नै। उनले प्रचण्ड तथा माधव नेपाललाई भेट्नो कुहिएर झरेका फल मात्र भनेका छैनन्, अरु थुप्रै आरोप लगाइसकेका छन्।
अनि प्रचण्ड–नेपाल समूहका नेताहरुले पनि ओलीमाथि बारम्बार गम्भीर आरोप लगाइसकेका छन्।
यसरी आरोप लगाउनेमा यो समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराई पनि अगाडि देखिएका छन्। संसद विघटन भएसँगै आरोप-प्रत्यारोपको यो शृङ्खलामा ओलीमाथि निर्मम व्यंग्य गर्ने वा आलोचना गर्ने अरु नेताहरु पनि छन् तर आउनुहोस्, संसद विघटनसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका यो समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईको चर्चा गरौँ।
किनकि अहिलेको समयमा सबैभन्दा बढी आशा गरिएका नेतामध्ये एक हुन्, योगेश भट्टराई। भोलिको नेपालका लागि आशा गरिएका नेताहरुको लहरमा योगेशको नाम पनि छुट्दैन। तर, पछिल्लो समय उनले जे अभिव्यक्ति दिइरहेका छन्, यसले यो लहरमा उनको नाम समावेश पनि गरिनु कतै गलत त होइन भन्ने भ्रम पैदा गर्न सक्छ।
राजनीतिलाई राम्रोसँग बुझेका छन्, योगेशले। उनले राजनीतिमा नै लामो समय बिताएका छन्, नेकपाका विभिन्न संगठनहरुलाई समय समयमा नेतृत्व पनि गरेका छन्। तर, पछिल्ला वर्ष र झन् उनी मन्त्री बनेपछि सबैभन्दा बढी आलोचनामा पर्ने नेतामा पनि उनी परेका छन्।
यसको उदाहरण हुनसक्छ, गत वर्ष उनले दिएको अभिव्यक्ति। त्यति बेला कोरोनाभाइरस महामारी भर्खर विश्वमा फैलिन सुरु गरेको थियो। नेपालमा कोरोना संक्रमित भेटिइसकेका थिएनन्। त्यही समयमा योगेशले भनेका थिए– अब हामी कोरोना फ्रि मुलुक भनेर प्रचार गरौँ, भ्रमण वर्ष मनाऔँ।
त्यसको केही दिनपछि नेपालमा पनि कोरोनाभाइरस संक्रमित भेटिन थाले। त्यसैले पनि त्यति बेला योगेशको दूरदर्शिता र मन्त्रीको जिम्मेवार अभिव्यक्तिमाथि प्रश्न उठेको थियो।
त्यो गैर जिम्मेवार अभिव्यक्ति आफ्नो ठाउँमा होला, त्यसअघि पनि योगेशले आफ्नो धारणा र विचारलाई बारम्बार परिवर्तन गरेका थिए।
यसअघिको प्रतिनिधि सभा निर्वाचनको समयमा ताप्लेजुङ पुगेर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङवासीलाई वाचा गरेका थिए– तपाईंहरुले योगेश भट्टराईलाई निर्वाचित गराउनुहोस्, मन्त्री बनाउने जिम्मा मेरो भयो।
तर, त्यति बेला प्रधानमन्त्री ओलीले आफ्नो वाचा बिर्सिए। उनले पहिलो पटक उनको नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्दा योगेश भट्टराईलाई मन्त्री बनाएनन्।
त्यति बेला शितल निवासमा ओली र मन्त्रीहरुले सपथ खाइरहँदा योगेश भट्टराईले ओलीले आफ्नो वाचा पूरा नगरेको विषयमा केही भन्नु छ भन्दा प्रतिक्रिया दिएका थिए– पार्टीले उहाँलाई जिम्मेवारी दिएको छ, त्यसमा मेरो भन्नु केही हुँदैन।
ओली नेतृत्वमा गठन भएको त्यो मन्त्रिपरिषद् बैठकमा नपरेपछि केही समयसम्म योगेशले सरकारप्रति कडा आलोचना र टिप्पणी गर्ने गरेका थिए। तर, उनले सरकार आलोचनाको ‘टोन’लाई विस्तारै नरम बनाउँदै लगे। चिकित्सा शिक्षा सुधारको माग गर्दै जब डा। गोविन्द केसी अनशन बसेका थिए, तब योगेश भट्टराईको टोन ठ्याक्कै प्रधानमन्त्री केपी ओलीसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया आउन थालेको थियो।
फलतः प्रधानमन्त्री ओलीले योगेशलाई आफ्नो मन्त्रिपरिषद्मा समावेश गराए।
मन्त्रीको जिम्मेवारी पाउनु केही दिनअघि मात्र योगेश सँगको अन्तर्वार्तामा केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका थिए। त्यति बेला सरकारले ल्याएको गुठी विधेयकको व्यापक विरोध भइरहेको थियो। योगेशले अन्तर्वार्तामा चाहिँ ओलीको यो बुद्धिमतापूर्ण निर्णयसम्म भन्न भ्याएका थिए।
त्यो अन्तर्वार्तामा योगेशले कतिसम्म भनेका थिए, ओली संविधानअनुसार अगाडि बढिरहेका छन् र देशको प्रमुख प्रतिपक्ष कांग्रेस त्यसमा अवरोध गरिरहेको छ।
त्यसपछि उनका अभिव्यक्ति यस्ता आए कि कतिपयले त आशंका पनि गर्न थालेका थिए, भट्टराईले नेकपामा माधव नेपाल क्याम्प छाडिसके, उनी ओलीतिर लागे।
यो आशंकालाई थप सहज बनाएको थियो, गत वैशाखमा ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने गरि अध्यादेश ल्याउँदा ओलीलाई पूर्ण रुपमा समर्थन गरेका थिए, योगेशले। उनले ट्विटरमा लेखेका थिए– खारिएको र अनुभवी र लोकतान्त्रिक नेतृत्वको विशेष विशेषताः लचकता।
आफूले ल्याएको अध्यादेश बाध्य भएर त्यति बेला फिर्ता लिएका थिए, ओलीले। अहिले ओली क्याम्पका नेता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलेसमेत खुलेर ओलीको यो अध्यादेशको विरोध गरेको समयमा योगेशले ओलीको डिफेन्ड गरेका थिए। पछिल्लो समय नेकपामा विवाद चर्किँदा पनि ओलीप्रति सफ्ट कर्नर राखेका थिए, योगेशले।
तर, अब समय फेरिएको छ। सत्ताबाट सडकमा ओर्लिएर योगेश अहिले भाषण गरिरहेका छन्।
अनि कहिले ओलीमाथि कडा आलोचना गरिरहेका छन्, योगेशले नै। कहिले ओली ज्ञानेन्द्र पथमा भनिरहेका छन् योगेशले त कहिले उनीमाथि एमालेको छाता ओढाउन खोजेको आरोप लगाइरहेका छन्।
अचानक नेकपा फुट भएकै कारण हिजो संविधानको रक्षा गर्ने ओलीमाथिको आफ्नो धारणा परिवर्तन भएको विषयमा त योगेशले केही नभनून्, तर के हिजो उनले ओलीलाई गरेको ढाकछोपको विषयमा पनि कुनै जवाफ दिँदैनन्?
रातारात आफ्ना धारणा फेरिँदा के अहिलेको समयले विश्वास गरेका योगेश भट्टराईजस्ता नेताले पनि हिजो आफूले गरेको गल्ती महसुस गर्दै जनतासामु प्रायश्चित गर्नु पर्ने होइन र?
यो प्रश्नको जवाफ सायद भट्टराईसँग मात्र छ !