चितवन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई जनताले साथ नदिएको बताएका छन् । चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको आरोप लगाएका छन् ।
पोखरेलले सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे।
‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन । यसपटक कमरेड प्रचण्ड फस्नुभयो ।
‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन्।’
उनले प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको दाबी गरे।