काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपालको हालत रत्नपार्कमा औषधी बेच्नेको भन्दापनि खराब भएको बताउनुभएको छ ।
आज काठमाडौंमा नेकपा,काठमाडौंले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रचण्ड समूहको भेलाप्रति लक्षित गर्दै भन्नुभयो, ‘त्यति मान्छे त रत्नपार्कमा औषधी बेच्ने मान्छेले पनि जम्मा गर्छ।’
प्रधानमन्त्री ओलीले अबको निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन दाहाल नेपाललाई चुनौती दिनुभयो ।
प्रचण्डसमूहले आफूसँग बहुमत भएको बताउँदै हिडेको स्मरण गर्दै उहाँले बैशाखको निर्वाचनबाट बहुमत अल्मपत छुटिने बताउँदै कुर्न आग्रह गर्नुभयो । ‘कस्ले कस्लाई पाटीृबाट निकालेछन् बैशाख २३ र २७ गते हेरौन त ।’
सरकारलाई काम गर्नै नपाउने अवस्थाको अन्त्य गर्न संसद् विघटन गरिएको बताउँदै प्रधानमन्त्री ओलीले अब त्यो नफर्कने बताउनुभयो ।
‘छानो कुहिएकोले नयाँ छानो हाल्न परेको हो ।’ उहाँले भन्नुभयो, ‘घरमुली छानो चुहियो भन्दै नयाँ हाल्नुपर्छ भनिरहेको र छिमेकी भने पुरानै छानो चाहियो भन्दै कराइरहेको छ ।’
पार्टीको चुनाव चिन्ह माग्नेहरु प्रति लक्षित गर्दै उहाँले भिम रावलले पार्टी खाताबाट ३० लाख झिकेको प्रंसग उल्लेख गर्दै भन्नुभयो, ‘उहाँहरुको ध्यान कता छ स्पष्टै छ नी । हाम्लाई पार्टीको चिन्ता छ उहाँहरुलाई चाहिएको त पैसा त रहेछ।’
उहाँले प्रचण्ड–नेपाल पक्षले ‘सूर्य चिह्न दिनुहोला’ भन्दै निर्वाचन आयोगमा निवेदन दिन गएको आफूलाई थाहा भएको बताउनुभयो। ‘जसको घर हो, ऊ निवेदन हाल्न जान्छ ?’ उहाँले भन्नुयभो , ‘जसको जमिन हो, उसले यो जमिन मेरो हो भनेर निवेदन हाल्न जानुपर्छ ? अनि जसको गाडी हो, उसले यो मेरो गाडी हो भनिरहनु पर्छ ? पर्दैन नि।’
महाधिवेशन र कुनै निर्वाचन नभएकाले बहुमतको दाबी झुटा भएको उहाँले बताउनुभयो । कहाँबाट आयो बहुमत, कसरी पुष्टि भयो बहुमत, कुन कार्यकर्ताले दियो मत ।’ उहाँले बहुमत छ भन्नेहरूले एउटा जिल्ला, एउटा निर्वाचन क्षेत्रमा बहुमत पुराएर देखाउन चुनौती दिनुभयो ।