यसरी हुनुभयो ओली सबैका ‘बा’

काठमाडौं । केपी शर्मा ओलीको अर्काे नाम हो ‘केपी बा’ । ओलीलाई ‘बा’ भन्नेको संख्या ठूलो छ । त्यो संख्या नेकपाभित्र पनि छ र बाहिर पनि छ । खासगरी युवा पुस्ताको ठूलो हिस्साले ‘केपी बा’ भनेर सम्बोधन गर्छ । जानकारहरु भन्छन्– ‘०६२ साल तिरबाट केपी ओलीलाई व्यापक रुपमा ‘केपी बा’ भन्न थालिएको हो ।’

भारतमा महात्मा गान्धीलाई ‘वापू’ भनिन्छ । भियतनाममा होचि मिन्हलाई ‘काका’ भनिन्छ । नेल्शन मण्डेलालाई दक्षिण अफ्रिकामा माडिबा अर्थात पिता र टाटा नामले सम्मान गरिन्छ । असाधारण व्यक्तिले कुनै सम्मानजनक उपनाम पाउने चलन नेपालमा मात्र होइन । यस्ता उपनाम कसैले निर्णय गरेर दिने होइन । नेपालमै पनि कृष्णप्रसाद भट्टराईलाई ‘किशुनजी’ र गणेशमान सिंहलाई ‘लौहपुरुष’ भनेर चिनिन्छ । उहाँहरुलाई कसैले दिएको नाम होइन । समाजले स्वत सिर्जना गरिदिएको नाम हो ।

‘केपी बा’ भन्ने चलन कसरी सुरु भयो ? तत्कालीन एमालेका मुख्य नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई किन कार्यकर्ता तथा अन्य मानिसले ‘बा’ सम्बोधन गरेनन्, किन केपीलाई नै ‘बा’ भन्न थाले ?

दर्दनाक छ ‘केपी बा’ भनिनु पछाडिको इतिहास ।

‘बा’ भनिनुको पृष्ठभूमि

‘केपी ओलीलाई कसैले निर्णय गरेर या निर्देशन दिएर बा भन्न थालिएको होइन’– नेकपाका नेता महेश बस्नेत भन्नुहुन्छ । अर्का नेता गोबिन्द थापाको भनाइ छ– ‘झापा जिल्लाका हामी केहीले बा भनेकाले उहाँलाई सबैले बा भनेका होइनन् । एमालेका युवा विद्यार्थीले मात्र नभएर पार्टी बाहिरका तथा राजनीतिमा नलागेका मानिसले समेत बा भन्न थाले । त्यसपछि मात्र ‘बा’ सम्बोधन ब्यापक बन्न थालेको हो ।’

‘बा’ अथवा ‘केपी बा’ सम्बोधनमा प्रचण्ड समूहका नेता माधवकुमार नेपालले भयानक आपत्ति जनाउनुभएको छ । माधवले ‘बा’ सम्बोधनलाई ‘ खराब प्रवृत्ति’ समेत भन्नुभएको छ । तर, ‘केपी बा’ सम्बोधन चलाउने काम प्रकारान्तरले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरुले नै गरिदिनुभएको अनौठो दावी महेश बस्नेत र गोविन्द थापाको छ ।

गोविन्द भन्नुहुन्छ– ‘केपी ओलीलाई बा भनाउने माधव नेपालहरु नै हो । माधवले पार्टी र देशको अभिभावकीय भूमिका निर्वाह गरिदिनुभएको थियो भने शायद उहाँ नै बा सम्बोधन र सम्मानको हकदार बन्नुहुन्थ्यो । जनता, देश र पार्टीको ‘बा’ नबनेर आततायीहरुको ‘बा’ बन्ने बाटोमा लाग्नुभयो । ‘बा’ नबनेर मालिक बन्न खोज्नुभयो । त्यसैले माधव नेपाल ‘बा’ बन्नुभएन । अभिभावकीय भूमिका ओलीले निर्वाह गर्नुभयो, त्यसैले ‘बा’ बन्नुभयो । ‘बा’ सम्मान नपाएको कुण्ठाले विक्षिप्त भएर माधवले ‘बा’ सम्बोधनको विरोध गरिरहनुभएको छ ।’

‘बा’ सम्बोधन फैलनुको सारथी र साक्षी तत्कालीन एमालेको युवासंघको नेतृत्व पंक्ति हो ।

पहिले पीडितका ‘बा’, पछि सबैका ‘बा’

माओवादी आतंक कालमा माधवकुमार नेपाल एमालेको महासचिव हुनुहुन्थ्यो । माओवादीले मान्छे मार्ने अभियान अन्र्तगत हजारौंहजार मानिस मारिसकेको थियो, हजारौंलाई घाइते तथा अपांग बनाएको थियो । जति धेरै मान्छे मार्यो त्यति धेरै आफूलाई सफल ठानिरहनुभएको थियो– प्रचण्ड र बाबुराम भट्टराईहरु । मारिनेमा एमाले कार्यकर्ता पनि ठूलो संख्यामा थिए । माओवादीले मान्छे मात्र मार्दैनथ्यो, मारिएका परिवारलाई लुटेर गाउँबाटै लखेट्थ्यो पनि । प्रचण्ड बाबुरामहरुको बर्बरता चरममा थियो ।

प्रचण्ड बाबुरामहरुको बर्बरता र माधव झलनाथहरुको मौनताका कारणले केपी ओलीले ‘बा’को भूमिका निर्वाह गर्नुपरेको सम्झनुहुन्छ महेश ।

त्यसबेला एमालेलाई माओवादीको हत्या हिँसामा रमिते बनाएर राख्ने प्रयास तत्कालीन महासचिव माधवले गर्नुहुन्थ्यो । आफ्ना कार्यकर्ता माओवादीले मार्दा विज्ञप्ति निकाल्न समेत माधवले आनाकानी गर्नुहुन्थ्यो । गाउँगाउँबाट विस्थापित हुनेहरु काठमाडौं आउँथे, कांग्रेस र एमालेको पार्टी कार्यालय जान्थे । कुनै सहयोग पाउँदैनथे, सहानुभूति समेत पाउँदैनथे । माओवादीले बनाएका विधवाहरु, टुहुराहरु, लुटिएकाहरु, विस्थापितहरु, कोख रित्याइएका आमाहरु, सहारा गुमाएका बाहरु आडभरोसा खोज्दै भौंतारिन्थे । उनीहरु केपी ओलीकोमा पुग्थे । केपीको घर माओवादी पीडितहरुको आश्रम जस्तै थियो ।

केपीकैमा देशभरीका पीडितहरु किन पुग्थे ? महेश बस्नेत भन्नुहुन्छ– ‘केपीले हत्याहिँसाको विरोध गर्नुहुन्थ्यो । हत्याहिँसाको वैचारिक प्रतिवाद गर्नेमा केपी अग्रणी हुनुहुन्थ्यो । त्यही भएकाले आतंक पीडित सर्वसाधारण नागरिक केपी ओलीलाई खोज्थे । न्यायको आशामा उहाँलाई भेट्न जान्थे । भेटघाटमा केही न केही सम्बोधन गर्नैपर्‍यो । उनीहरुमध्ये धेरैजसोले केपीलाई बा भन्थे । किनभने अभिभावकतुल्य व्यवहार गर्नुहुन्थ्यो । पीडितहरुले बा भेटेजस्तै ठान्थे ।’

गोविन्द थापा भन्नुहुन्छ– ‘हो, टुहुरा, विधवा, माओवादीले कोख रित्याइदिएका बाआमाहरु, गाउँबाट लखेटिएकाहरु, लुटिएकाहरु धेरैले केपी ओलीलाई बा भन्थे । कतिपयले दाइ, कतिपयले अंकल भन्थे, कतिपयले हजुरबा पनि भन्थे । एकदिन केपी ओलीकोमा हामी थियौं । धेरै मानिस आएका थिए । एकजना बालिका अगाडि बढिन् । उनलाई ओलीले काखमा लिनुभयो । बालिकाले रुँदै भनिन्– हजुरबा, मेरो बाबामम्मीलाई मार्नेलाई मारिदिनुपर्यो । बच्चीको कुरा सुनेर केपी रुनुभयो । त्यहाँ उपस्थित सबैको आँखा रसाए ।’

ओलीको बोलीव्यवहारका कारण मानिसहरुले अनायसै बा भन्ने गरेको बताउनुहुन्छ थापा ।

तर, सबैले भन्दैनथे बा

ओली निवासमा पुग्ने दुःखी पीडितहरु सबैले बा भन्दैनथे । माओवादीले सन्तान मारिदिएका वृद्धवृद्धाहरुले ओलीलाई छोरा पनि भन्थे । अधिकांश युवाले चाहिँ ‘बा’ भन्थे ।

लोकतन्त्र आएपछि माओवादी खुल्ला भयो । खुलेआम मान्छे मार्ने माओवादी अभियान रोकियो तर लुट र अत्याचार भने रोकिएन, झन् बढ्यो । माओवादीले लुटेरा र अपहरणकारी स्वरुप धारण गर्‍याे। माओवादीको नयाँ अवतारको तत्कालीन एमाले नेतृत्वका माधव झलनाथहरुले विरोध गर्नुभएन । तर, ओलीले भने झन् कडा वैचारिक प्रतिवाद गर्नुभयो । पीडितहरु झन् धेरै संख्यामा ओलीकोमा पुग्न थाले । जति धेरै संख्यामा पीडितहरु ओलीकोमा पुग्न थाले, त्यति धेरै युवाले ओलीलाइ ‘बा’ भन्न थाले ।

एमालेभित्र आम रुपमा एकअर्कालाई तथा नेताहरुलाई सम्बोधन गर्दा ‘कमरेड’ नै भनिन्थ्यो । तर, ओलीकोमा पुग्नेहरु ‘कमरेड’ शब्दमा अभ्यस्त थिएनन् । ती दीनदुखी, पीडित, बेसहारा हुन्थे, केही मात्र एमाले समर्थक हुन्थे । धेरै मानिस राजनीतिमा नलागेकाहरु हुन्थे । उनीहरुलाई कम्युनिष्ट पार्टीमा ‘कमरेड’ भन्ने चलन थाहा पनि थिएन । त्यसैले ओलीको पितातुल्य व्यवहार र उमेरलाई ध्यानमा राखेर नेपाली समाजको चलन अनुसार ‘बा’ भन्न थाले ।

आफूभन्दा ठूलालाई बा, आमा, काका, दाजु, दिदी, मामा, माइजू लगायतका प्रीतिकर शब्दावलीले सम्मान गर्ने नेपाली संस्कार हो । सानालाई भाइ बहिनी भन्ने पनि संस्कार नै हो । यही संस्कार अनुसार केपी ओलीलाई सर्वसाधारणले बा भनेको र आफूहरुले पनि बा भन्न थालेको बताउनुहुन्छ राजीव पहारी ।

‘म उहाँलाई बा भन्दिन, अंकल भन्छु । किनभने मेरा बाभन्दा उहाँ कान्छो हो’– ओलीका स्वकीय सचिव इन्द्र भण्डारी भन्नुहुन्छ । उहाँको विचार छ– ‘बा भन्न कसरी र कहिले थालियो भन्ने यकिन साथ भन्न सकिन्न । आफूभन्दा ठूलालाई आदरार्थी शब्द प्रयोग गर्ने नेपाली चलन हो । त्यही चलन अनुसार धेरैले बा भनेका हुन् ।’

युथफोर्सका ‘बा’

शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादीले अपहरण र चन्दाको धन्दा थाल्यो । समानान्तर सत्ता चलाउन खोज्यो । माओवादीको त्यस्तो अवांछित कामको विरोध त्यसबेला एमाले नेतृत्वमा रहनुभएका माधव र झलनाथले गर्ने कुरै थिएन ।

‘बरु, पुच्छर हल्लाउँदै माओवादीको पछाडि एमालेलाई लगाउने प्रयास माधव र झलनाथहरुले गरिरहनुभएको थियो’– युवा संघका नेता किरण पौडेल भन्नुहुन्छ । प्रतिवाद गर्ने मुख्य नेता ओली नै हुनुभएको किरण सम्झनुहुन्छ ।

अत्याचारको वैचारिक सांगठनिक प्रतिरोध गर्न चाहनुहुन्थ्यो केपी ओली तर माधव झलनाथहरु माओवादीसँग आत्मसमर्पण गर्ने बाटोमा लाग्नुभएको थियो । नेतृत्वले अत्याचारको प्रतिकार नगर्ने देखेपछि ओलीले युवा संघलाई साथ दिनुभयो । युवा संघका अध्यक्ष त्यसबेला हुनुहुन्थ्यो महेश बस्नेत । नेतृत्व टिममा महेश, निरु पाल, झपट रावल, गोविन्द थापा, राजीव पहरी, सूर्य ढकाल, हरि राई, रमेश पौडेल, किरण पौडेल लगायतका हुनुहुन्थ्यो । युवा संघ र युथ फोर्स टिमको जमघट ओली निवासमा भइरहन्थ्यो । त्यहाँ आएका दुःखी पीडितहरु सबैले ओलीलाई बा भन्थे, गैर कार्यकर्ताहरुलाई सहज बनाइदिन युवा संघको टोलीले पनि ‘कमरेड’ नभनेर बा भन्न थाल्यो ।

युवा संघले युथ फोर्स बनाएर माओवादीको आततायी क्रियाकलाप नियन्त्रण गर्न थाल्यो । आतंक पीडित र न्यायको पक्षमा लाग्ने युवाहरु युथ फोर्समा गोलवन्द हुन थाले । युथ फोर्सले माओवादी आतंकको प्रतिकार गर्दा माधव र झलनाथहरुले साथ दिनुभएन । बरु, युथ फोर्सको विरोध गर्नुभयो, युथफोर्स विघटन गर्न पार्टीमा प्रस्ताव राख्नुभयो । ओलीले युथफोर्स विघटन गर्न दिनुभएन । युवा संघ तथा युथ फोर्सको जमघट पार्टी कार्यालयमा नभएर ओली निवासमा हुन थाल्यो ।

यसकारण आम जनता तथा युवा पंक्तिको ओलीप्रति श्रद्धा झन् बढ्यो । उहाँ झन् धेरै मानिसको ‘बा’ बन्नुभयो ।

‘ठूलो संख्याले बा भनेको सुनेपछि अरुले पनि बा भन्न थाले, जसले गर्दा उहाँ सबैका बा बन्नुभयो’– युवा संघका नेता रमेश पौडेल भन्नुहुन्छ ।

पार्टीभित्रका पीडितहरुका पनि ‘बा’

माधव नेपाल र झलनाथ खनाल नेतृत्वको बेला एमालेभित्र तानाशाही थियो । बोल्न लेख्न पाइँदैनथ्यो । माधवले केपी ओलीलाई जिल्ला जान र पार्टीका कार्यक्रममा प्रमुख अतिथी बन्न समेत रोक लगाउनुभएको थियो । किनभने जहाँ गए पनि ओलीले जनता र कार्यकर्ताको विचार बोल्ने, हत्याहिँसाको विरोध गर्ने । पीडित कार्यकर्ता तथा आम जनतामा ओलीको बोलीले उत्साह जगाउँथ्यो, साहस बढाउँथ्यो । यो कुराले माधवलाई डाहा लागेको  बताउनुहुन्छ त्यसबेला युवा संघ नेतृत्व पंक्तिमा रहनुभएका सूर्य ढकाल ।

त्यो कालखण्डमै कतिपयले बा भन्न सुरु गरिरहेको बताउनुहुन्छ सूर्य । माधव झलनाथको पेलाईमा परेका, अन्यायमा परेका, पाखा लगाइएका इमानदार कार्यकर्ताहरुको आशा र भरोसाको केन्द्र केपी ओली हुनुभएको सम्झनुहुन्छ सूर्य । भन्नुहुन्छ– ‘पार्टीभित्र पीडितहरुको बा हुनुहुन्थ्यो केपी ओली । पछि धेरैको बा बन्नुभयो ।’

सबैका बा

‘बोली व्यवहारका कारणले नै केपी ओलीलाई बा भनिएको हो । म पनि बा भन्छु’– सूर्यबिनायक नगरपालिकाका मेयर वासुदेव थापा भन्नुहुन्छ ।

करिब ६९ वर्षीय ओलीलाई ‘बा’ भन्ने बासुदेव ५८ वर्षका हुनुहुन्छ । अर्थात्, उमेरका दृष्टिले बासुदेवले ओलीलाई बा भन्नुपर्ने होइन । तैपनि किन बा ? वासुदेव भन्नुहुन्छ– ‘मभन्दा जेठाले पनि ओलीलाई बा भन्ने गर्नुभएको छ । ओलीले पितातुल्य अभिभावकीय व्यवहार गर्नुहुन्छ । राम्रो काम गर, जनताको सेवा गर भन्नुहुन्छ । उहाँले म ठूलो नेता हूँ तिमीहरु साना हौ भन्ने व्यवहार गर्नुहुन्न । बालकदेखि वृद्धसम्म सबैसँग मिल्नुहुन्छ । त्यसैले सबैले बा भनेका हुन् ।’

बा भनेकोमा माधव नेपालहरुले विरोध गर्नु अमानवीयता हो भन्नुहुन्छ नेता किरण पौडेल । भन्नहुुन्छ– ‘माधव कमरेडहरुले अलिकति मानवीयता र सामाजिकताको पनि ख्याल राख्नुपर्छ । कसैले कसैलाई बा भनेकोमा विरोध गर्नु तुच्छ व्यवहार हो । माधवलाई यस्तो घटिया र असामाजिक व्यवहार गर्न सुहाउँदैन ।’

‘विरोध गर्ने मुद्दा, अजेण्डा, बहाना केही नपाएपछि व्यक्तिगत आक्रमणमा माधव उत्रनुभएको हो’– राजीव पहरी भन्नुहुन्छ– ‘जनताले ओलीलाई बा भनेकोमा माधवले गर्नुभएको विरोध सुन्दा बोल्नेलाई भन्दा सुन्नेलाई लाज भनेजस्तो हुन्छ ।’

युवा संघ टिममा रहनुभएका गोविन्द थापा भन्नुहुन्छ– ‘म उहाँकै चुनाव क्षेत्रको हो । वाल्यकालदेखि नै सम्बन्ध भयो । कमरेड भन्न मुख लाग्दैन । मेरो बा बराबरकै हो केपी ओली । मेरो जन्मदिने बा हरिश्चन्द्र थापा, कर्म दिने बा केपी ओली । मैले बा भन्न किन नपाउने ?’

प्रतिक्रिया दिनुहोस