कविता अधिकारी/काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजोआज हरेक भाषणमा प्रयोग गर्ने शब्द हो,– ‘सचिवालय बैठकमा मेरो त कुर्सी नै छैन ! प्रधानमन्त्रीले मेरो कुर्सी सात जनाकै लाइनमा राखिदिनुभयो । माधव नेपालले मलाई पछि भन्नुभयोे, म भएको भए त कुर्सी उचालेर लगेर केपीको अगाडि राखेर उता सर भन्थे ।’
नेता पुष्पकलम दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन माग गर्दै आज भृकुटी भण्डपमा भएको भेलालाई सम्बोधन गर्ने क्रममा पनि उहाँले उक्त शब्द दोहोरयाउनुभयो । प्रचण्डको भाषणका हरेक शब्द केलाउने हो भने यो कुरा प्रष्ट हुन्छ कि उहाँमा प्रधानमन्त्री हुन नपाएको छटपटी प्रष्टै छ !
प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध भएभरका गालिगलोज, कपोकल्पित मिथ्या आरोप लगाएर आफू प्रधानमन्त्री बन्ने रहर मेटाउने उदेश्यले उहाँ यतिबेला सडकमा हुनुहन्छ र बरबराईरहनुभएको छ ।
बालुवाटारको प्रधानमन्त्री बन्न मरिहत्ते गरेर लाग्नुभएका नेता प्रचण्ड कुर्सी नपाएपछि नै सड्कमा पुग्नुभएको हो भन्ने कुरा जनताले प्रष्ट रुपमा बुझेका छन् । नेकपाका नेता प्रभु शाहले भन्नुभएको छ,–‘प्रचण्डलाई प्रधानमन्त्री बनाए विधि पद्धति सबै हुने ! कुर्सी नपाए अरु भ्रष्टाचारी, अपराधी, राष्ट्रघाति के के हो भन्न हुने नहुने आरोप सबै थोपर्ने ।’ यतिबेला केही नेताहरुले कुर्सी नपाएकै झोकमा सवै सिष्टममा नै समस्या देखाउदै हिडेको पाइन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामगर्न नदिएर घेराबन्दीमा पारेपछि विकास र समृद्धिको आफ्नो लक्ष्यलाई बिथोल्न खोजिएको भन्दै वैशाख १७ र २७ गते निर्वाचनमा जाने निर्णय गर्नुभएको छ । लोकतन्त्रमा दलहरुबीच सहमति हुन सकेन भने जनतामा नै जाने हो । अनि जनतामा जाने कुरामा यति विध्न रोइलो किन ? नेता प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पुरा गराइदिनका लागि यतिबेला जनता सडकमा आइदिनुपर्ने ! कहाँ छ जनताको समर्थन ? यो त एकलौटी रुपमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने दबाब होईन ? प्रचण्ड समुहले आन्दोलनका नाममा आफ्नो एजेन्डा लादने प्रयास गरेका छन्, त्यसलाई जनताले राम्रैसँग बुझेको हुनुपर्दछ ।
कोरोना कहरको महामारी आक्रान्त छ । जनता अझैपनि भिडमा जान डराएका छन् । कोरोना महामारीमा लड्नका लागि सबै एक ढिक्का हुनुपर्ने समय नेताहरु कुर्सीको राजनीतिमा लुछाचुँडी गरेको जनताले महसुस गरेका छैनन र ? लकडाउनको समयमा पार्टी फुटाउने, कोरोनाका बिरुद्ध लडनका लागि अभियान चलाउन नदिने ? कसरी हुन्छ सरकारलाई गिराउने खेलमा पाँचभाईको ‘ग्याङ अफ फाईभ’ बनाएर तपाईहरु लाग्नुभएको हैन ? सरकारलाई कामगर्न नदिएर पदको बाँडफाँड गदै प्रधानमन्त्री, पार्टीको अध्यक्ष, राष्ट्रपतिको भागबण्डा लगाउने खेल तपाईहरुकै होइन ? कोरोनाको जोखिम रहेकै अवस्थामा अझै संक्रमण फैल्याउने खालका गतिविधि गदै जनताका बीचमा जाने निर्णयका बिरुद्ध यो भिडतन्त्रको सहारा लिनु उदेक लाग्दो छैन र ?
यतिबेला देशको राजनीतिक बुझेका जनताले प्रधानमन्त्रीको कदम सही हो भनेरै बसेका छन् । महाअधिवेशन नगरि नै आफ्नो पार्टीमा लामो समयसम्म अध्यक्ष भएर बस्नेले विधि र पद्धतिमा चलेको पार्टीको अध्यक्षले महाधिवेशन गर्न दिएन भन्दा कस्ले पत्याउला ?
हिजो सरकारलाई साथ नदिने, कसरी हुन्छ सरकारलाई विवादमा तान्ने र पार्टी फुटाउने खेलमा लाग्ने तपाईहरुले अब जाने भनेको निर्वाचनमा नै हो ।
नेता प्रचण्डले भाषणमा भन्नुभएजस्तै जनताले नै हो सच्याउने । प्रधानमन्त्री बन्ने लोभ भए निर्वाचनबाट जितेर आउनु प¥यो । सड्क तताउँदैमा पद पाइदैन, चुनाब आउदैछ तपाईको परीक्षण चुनाबमै होला । जनता भनेका पानी हुन र नेता भनेको माछा, पानीसँग डराउने माछाको अस्तित्व के रहन्छ त्यो त सवैसामु प्रष्टै छ ।
त्यसैले कोरोनाको संक्रमण बढाउने यस्ता भीड हुने गतिविधि रोक्दै चुनाबमा जानु सवैभन्दा प्रजातान्त्रिक बाटो हो ।