काठमाडौं । प्रेम कथामा आधारित चलचित्र ‘हिड्दा हिड्दै’ को छायांकन सोमबारबाट सुरु भएको छ । पहिलो दिनको सुटिङ ललितपुरको गोदावरीमा गरिएको थियो । जसमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सानिया खानबीचका प्रेमिल दृश्यलाई कैद गरिएको चलचित्रका प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिनुभयो ।
मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । चलचित्रको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले नै लेख्नुभएको हो ।
कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको चलचित्रको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ हुनुहुन्छ । महादेव शाह सहनिर्माता रहेको चलचित्र काठमाडौं र गाइघाटमा छायाँकन गरिने निर्माण पक्षले जनाएको छ ।
सुमनकुमार तण्डुकारको छायाँकन रहेको चलचित्रका गीतमा बसन्त सापकोटा र किरण माइकलको सङ्गीत र कबिराज गहतराजले कोरियोग्राफी रहने छ । देव महर्जनले द्वन्द्व निर्देशन गर्ने चलचित्रको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार थिङ हुनुहुन्छ ।