अचारविचार पत्रकार

काठमाडौं । संयमित बनौं, सजग रहौं ! बाहिर जाँदा मास्क प्रयोग गरौं। पत्रकारसँग गफ गर्दा त झन् प्रयोग गरौं।

“दिनभरी अरबौँका गफ सुन्छ, करोडपतिहरुसँग उठबस गर्छ, साँझ टेम्पु चढेर घर जान्छ र ग्यास किन्ने पैसा नभएर काँचो चाउचाउ चपाएर सुत्छ । -पत्रकार”

एकजना विश्वासिला पत्रकार अशोक दाहालको ट्विटर प्रोफाईलमा यो पिण्ड ट्विट देखेपछि कुन किसिमको पत्रकारको परिकल्पना गरिन्छ त्यो बेग्लै पाटो भयो । तर उक्त ट्विट पढेपछि भने समग्र पत्रकारिता जगतको विकास एवम् टेवाकालागि के कस्ता पत्रकारहरुले के कति योगदान दिएका रहेछन् भन्ने कौतुहलता जाग्यो !

हामीले लामो समय लगाएर यस बारेमा अध्ययन अनुसन्धान गर्यौं । विभिन्न सरोकारवाला व्यक्तिहरुसँग गफ गर्यौं । राय लियौं । त्यसपछि हामीले भगवान ब्रम्हाले पनि आँट गर्न नसकेको काममा हात हाल्यौं – पत्रकारहरुको बारेमा अध्ययन ! दुनियाँको बारेमा अध्ययन गर्ने पत्रकारहरुको बारेमा अध्ययन गर्नु कठिन कार्य थियो। र अन्त्यमा, हामीले पत्रकारहरुको दैनिकी बिचार गरेर ट्वाक्क अचार बनाउने कोशिस गकेका छौं । यो अचारमा कति किसिमका मसला छन् पढ्दै गए अवश्य नै थाहा पाईहालेनु हुनेछ ! अहिलेलाई भने भन्दिहालम् यो हचुवाको भरमा लेखिएको लेख नभएर स्रोतमार्फत संकलित सुचनाहरुलाई बकुल्लाले जसरी ध्यान गरेर हामीले पत्रकारको वर्ग छुट्याएका हौं।

सिने पत्रकार

नयाँनयाँ छँदा एक बाईटकालागि कलाकारको गोडा ढोग्नसमेत पछि नपर्ने, शुटिंगदेखि घरसम्मै चाकडी बजाउन धाईरहने, चोक गल्लि सबैतिर पछ्याई हिॅंड्ने यि अजिबोगरिब नमूनाहरु ठाउॅंमा पुगेपछि भने पत्रकारिता कम दलाली ज्यादा गर्दै बितरक अनि हलवालाहरुसंगको सेटिंगमा रमाउॅंछन् ! आफु कार्यरत संचार माध्यमको दुरपयोग गऱ्यो, नानाथरी गसिप चलायो, बिग्रेका कुरा सम्पादन गरेर वा नबुझिएका कुरा बुझाईदिएर कलाकारको गरिमा बढाईदिनु पर्नेमा आफ्नो कार्यक्रको टिआरपी बढाउन उल्टै बेईज्जत गर्दै हिॅंड्छन् ! यिनले काम बिगारेर माफी माग्दापनि धारे हात लाएर पख्लास जान्याछु भन्ने खालको धम्किको शैली प्रयोग गर्छन् । कार्यक्रममा अन्तर्वार्ता दिन नआउने कलाकारलाई आफ्नै कार्यक्रम मार्फत बतासे हान्नु यिनको दैनिकी हो !

लिंक ठेलक

यिन्ले ठेल्ने मात्रै काम गर्छन् ठेलिरहन्छन् र ठेलेर थाक्दैनन् ! हन्बेर्नोडटकम वा गुलामपाटीकम जस्ता लाग्ने साईटमा भिजिटर बढाउन आफ्नो ट्विटर फेसबुकमा दनादन लिंक ठेलेको ठेलै गरेर फलोअर्स र फ्रेण्ड्सको गिदी ह्याप्स गर्छन् ! यिनको काम भनेको आफ्नो वेबसाईटको लिंक ठेल्ने अनी अरु क-कसले त्यो लिंक सेयर गरेको छ; खोजिखोजि त्यसलाई रिट्विट गर्ने केहि ठूला मिडियामा काम गर्नेहरुले ब्यावसायिकता प्रदर्शन गरेपनि अधिकांशले तपाईंको वाल वा टाईमलाईन फोहोर पार्ने अलावा अन्य केही लछारपाटो लाउदैनन् ! यिनिहरुलाई म्यूट गरेर बस्दा पनि फरक पर्दैन। कुनै पनि मान्छेलाई लिंक ठेलेर कतिसम्म वाक्क पार्न सकिन्छ भन्ने विषयमा यिनीहरुले ३ महिने कोर्स गरी डिस्टिंक्सनमा पास गरेको हुन सक्ने भनेर नाम नबताउने सर्तमा स्रोतले बताएको छ।

पदाधिकारी पत्रकार

यिनीहरु चैं पत्रकार भन्दा पनि पत्रकारहरुको लागि बनाईएको संघ र संगठनको पद लिने व्यक्तीहरु हुन्। एकादेशमा फलानो पत्रिकामा मेरो बाईलाईन छापिएको थियो नि भन्दै त्यसैको ब्याज खाएर नेताको गुलामी गर्दै विभिन्न संघमा यिनले नियुक्ती पाउँछन्। यिनीहरुलाई पत्रकार भन्दा पनि पत्रकारको नाममा दलाल भन्न चै मिल्छ। पदमा बस्दा पनि यिनले न पत्रकारको भलो गर्छन् न पत्रकारिताको। कामै क्यै नगरी कुर्सीमा लामो समय बस्दा पनि चाकमा पिलो किन आउदैन भनेर अध्ययन गर्नको निमित्त यिनीहरु गतिलो सन्दर्भ सामाग्री हुन सक्छन्।

समाज सुधारक / अभियन्ता

यिनको चासो समाजमा भैरहेका विकृती विसंगतिप्रति रहन्छ । सामाजिक कार्यमा सरिक हुनु, आफू पुगेका ठाउॅंमा भत्किएका र मिचिएका सडक पेटी, बिग्रेका बाटाहरु, अस्तब्यस्त बिजुली र टेलिफोनका तारका फोटा हुलेर बिहान सखारैदेखि सरकारलाई धारे हात लाउनु यिनको नित्यकर्म हो ! अर्थ न बर्थ गोविन्द गाई पाराका ह्याशट्याग हालेर समाज सुधार्ने ठेक्का आफैंले पारेझैं गरि हुट्टिट्याॅंउको जीवन बाॅंचेका छन् यिनिहरु !

यिनीहरु बहुत दुखिया हुन्छन्। समाज सुधार्ने ठेक्का कसले लिने भनेर बोलपत्र आव्हान गर्दा यिनीहरुले टेन्डर प्राप्त गरेको हुन सक्ने हाम्रो प्रारम्भिक आँकलन रहेको छ।

ल्याइते पत्रकार

नाम नै काफी छ ! यि कुनै समुहले उसको खास श्रोत रहने गरी कुनै ठुलो मिडियामा ल्याएर राखिदिएका बुख्याॅंचाहरु हुन् । यिनीहरुको पद जेसुकै भए पनि काम भनेको निश्चित् समुहको भक्तिगान गाउनु र पत्रकारिताको आवरणमा उनीहरुको स्वार्थ पुरा गर्नु हुन्छ। सामाजिक संजालहरुमा यि पत्रकारहरु एउटा एजेन्डा टिपेर सदावहार बाझिरहेका हुन्छन्। खोज्यो भने यिनीहरुले बाईलाईन नलेखेको वर्षौ भईसकेको हुन्छ !

ल्याईते पत्रकारहरु चैं पत्रकारको नाममा कलंक हुन्। कलंकी मात्रै नभएर नौबिसे सम्म हुन् भनेर कौटिल्यको डायरीको पछाडी पट्टीको गातामा लेखिएको छ।

टुरिस्ट पत्रकार

यिनीहरु प्रोफेसनल फुटबल खेलाडी जस्तै हुन्छन् – आज एउटा क्लबबाट खेल्ने त ४-५ महिनापछि अर्को क्लबबाट खेल्ने । यिनीहरु केही समय एउटा मिडियामा काम गर्छन्, अलिकति टाईम भएपछि उछिट्टिएर अर्को मिडियामा पुग्छन् । यिनीहरुको चाकमा चुर्ना परेर हो कि के हो, एकै ठाउँमा लामो समय टिक्न सक्दैनन्। टुरिस्ट जस्तो घुमिरहन्छन् । फेसबुक ट्विटरतिर यिनीहरुसँग जोडिनु भएको छ भने यिनीहरुले आज एउटा मिडियाको लिंक सेयर गरेर बस्छन् गोडाचारेक महिनामा अर्को ! तपाई यिनको लिंक सेयर गराई देखेर यिनको मिडिया गेस गर्न सक्नु हुन्छ।

ओभाना पत्रकार

यिनीहरु पत्रकारिता र दलालकारिता सबै गर्छन्। भैरव अर्याल ले भनेको ‘मौकामा गाई पनि मार्नुपर्छ, भाइ पनि मार्नुपर्छ। चाहिने जो बिरालीको घिउ बेचर भए पनि बुहारीको जीउ बेचेर भए पनि चाहिने जो ढुकुटी भर्नुपर्छ’ यिनीहरुमा ठ्याक्कै लागु हुन्छ। तर यिनीहरुको असली अनुहार तब देखिन्छ, जब यिनीहरुको जागिर खुस्किन्छ। जागिर खुस्किएपछि यिनीहरुले म त ईमान्दार पत्रकार हुँ तर साहुले यस्तो यस्तो फलान्थोक गराउथ्यो, यो सँग सम्चारको विषयमा बार्गेनिंग गराउँथ्यो भनेर भुतपुर्व कम्पनीको बदख्वाँइ सुरु गर्छन्। जागिर चिप्लिएपछि चैं आफु पानी माथीको ओभानो बन्छन्।

अलपत्रकार

यिनीहरु खटेर र डटेर काम गर्छन्। पत्रकार बन्ने प्यासन लिएरै पत्रकारिता सुरु गरेका हुन्छन्। तर यिनले लेखेको समाचार बेचेर साहु धनी हुँदा पनि यिनीहरुको स्तर जस्ताको तस्तै नै हुन्छ। अहिले केरोनाको कारण जो-जो पत्रकारहरुलाई साहुले लात हानेर काम बाट निकाल्दियो, तिनीहरुमध्ये प्राय: यही क्याटेगोरीमा पर्छन्।

यिनीहरु दुनियाँ मान्छेले लकडाउनमा तलब पाएनन् भनेर सम्चार लेख्छन् तर आफुले नै बिना तलब विगत ४ महिना देखी काम गरिरहेका हुन्छन्। यिनीहरुको हरिबिजोग देख्दा घुँडाबाटै आँशु आउँछ।

खलपत्रकार

कतै कसैले केही नराम्रो गरेको सुॅंईको पाए सुलसुले पारामा सुचना संकलनगरि ति विरुद्ध ब्यानर न्यूज खेस्रा गरेर कालाबजारी वा अन्य ब्यक्तिहरुसंग डिल गरेर द्रब्य भोजन गर्नु यिनको आदत हुन्छ । यिनीहरु पनि पत्रकारको आवरणमा दलाल नै भएकोले कसै कसैले खलपत्रकारको ठाउँमा दलपत्रकार भन्ने गरेको सुचना पाईएको छ। नयाँ भर्ना लिने बेलामा स्कुलहरुको विरुद्ध अभियान नै चलाएर सम्चार लेख्ने, विज्ञापन नपाईन्जेल सम्म खेदो खन्ने विज्ञापन मिलेपछि सबै कुरा मिलाउने, प्रतिष्ठित व्यापारीहरुलाई कि पैसा दे नत्र यो सम्चार हाल्दिन्छु भन्ने लगायतका कार्यहरु यी पत्रकारहरुले गर्छन्।

यिनीहरुको मुख्य ध्येय अघि भनेजस्तो मिलेमा द्रब्य खाने नमिलेमा समाचार छापिदिने नै रहेको पाईएको छ।

वरिष्ठ

सम्पादकभन्दा निम्नकोटीका पत्रकारहरु यो वर्गमा नपर्ने भए पछि अगाडी-पछाडी सम्पादकको फुर्को हालेर भए पनि सह-सम्पादक, उप-सम्पादक, प्रवन्ध-सम्पादक, कला-सम्पादक, साहित्य-सम्पादक, फ्रन्टपेज- सम्पादक, खेलपृष्ठ – सम्पादक, डेस्क-सम्पादक, बेन्च-सम्पादक ईत्यादीहरु समेत यो वर्गमा पर्न तॅंछाड मछाड गरिराखेको पाईएको छ ! यिनिहरुमध्ये केही ससाना कुरामा एटेन्सन सिकेर भाइरल बन्न खोज्छन् त केही बडो गम्भिर भएर वर्षात्‌मा गुको लिॅंड फूले झैं गमक्क गम्किएर बस्न रुचाउॅंछन् । चट्ट ला’र आफ्नो ट्विट टाईमलाईनमा मिल्काएर चिया, कफि वा व्हिस्कीको चुस्की लगाउदै रिट्विट गनि बस्ने तर कसैको प्रश्नको रेस्पोन्स नगर्ने वा मेन्सामेन्सी नगर्ने रोगले प्राय: वरिष्ठेहरु ग्रसित हुन्छन् !

कुनै पनि मिडियामा स्थान मिलेन भने आफै अनलाईन खोलेर भए पनि यिनीहरु आफुलाई वरिष्ठ कहलाउन दत्तचित्त भएर लागि परेका हुन्छन्।

‘नाम और टाईटलका भुख भि बहुत कुत्ती चिज है साहब…’ – कालु पाँडेको भाइ आलु पाँडे।

किताब- लेखक/लेखिका

यो कोटीका पत्रकार दोबाटो, चौबाटो, चिया पसल, सामाजिक संजाल जताततै भेटिन्छन् । सोखले लेख्ने, अनुसन्धान गरेर लेख्ने या पाएको मौकामा आफ्नै अनुभव उतार्न लेख्ने हुन् वा स्वस्ती गायनका लागि लेख्ने हुन् सबैले एकुन्टा पुस्तक त यो जुनीमा छपाएकै होलान् ! प्रकाशन गृहका लाउकेहरु र यिनको बेजोडको संगम देखिन्छ । यो गठबन्धनले साहित्यिक भेला, गोष्ठी देखि पुस्तक यात्रा सम्मको नाम दिएर बजारमा टिकिराख्ने प्रयाश गर्दछ । कुनै नयाॅं पुस्तक आउने बेला भएमा यिनिहरु सामाजिक संजालमा सलबलाउन थाल्छन् र किताबको विषयवस्तु अनुसारको बहस छेड्छन् । याद रहोस् यो समय भनेको लेखकहरुले धमाधम ट्विटेलाई फलो गर्ने मौसम पनि हो ! किताबको चर्चा सेलाउदै गएपछि यिनका चुरीफुरी सकिन्छन् साथमा फलोईंग लिष्टपनि दुब्लाउदै जान्छ ।

ऋषी धमला

हामीले ऋषी धमलाको वर्गीकरण गर्न सकेनौ र कारण खोज्दै जाँदा उहाँ आफु खुद पत्रकारहरुको विश्वविद्यालय भएको कुरो पत्तो लाएको छौ। विषयको चुरो कुरो थाहा नभए पनि ठुलो डाँक गर्ने चलनको प्रणेता अर्नव गोश्वामी नभएर धमला नै रहेछन् । यिनीहरु आफ्नो पाहुनाको कट्टु खोलिन्जेल प्रश्न सोध्छन् तर पनि यिनको कार्यक्रममा पाहुना लाग्नको लागी मान्छेहरु मरिहत्ते गर्छन्। ऋषी धमला अब एउटा जाबो पत्रकार मात्रै रहेनन्, उहाँ एउटा ब्रान्ड हो। हामी उहाँलाई कोटी कोटी नमन गर्दछौं।

भविष्यमा ऋषि घमलाको नाम र फोटो राखेर हुलाक टिकट जारी गर्नुपर्छ नत्र भने नेपालको ईतिहासमा त्यो कहिल्यै नमेटिने दाग हुनेछ।

हाम्रो छोटो मगजले अहिलेको सबैभन्दा प्रख्यात युट्युबे-पत्रकार हरुको बारेमा लेख्न भ्याएन। उनीहरुको लिलाको वर्णन गर्न हजार जिब्रा भएको शेषनागले पनि मुस्किलले सक्छन्। त्यसकोलागि क्षमाप्रार्थी छौं । युट्युबे पत्रकारिता र मुलधारको पत्रकारिता भनेर छुट्याउने हरुलाई युट्युबे पत्रकारिता नै मुलधारको पत्रकारिता बन्न गईरहेको कुरामा पनि ध्यानाकर्षण गराउदछौ।

बरु अजिंगरको मुखमा हात हाल्दा सुरक्षित भईन्छ होला तर पत्रकारको विषयमा हात हालेपछि थर्कमान भईने रैछ । पत्रकार भनेका महासागर हुन्, हाम्रो यो लेख त लोटाबाट पानी सोहोरे जस्तै मात्र हो । हामीले धेरै किसिमका पत्रकारहरु छुटाएका छौं । यदि तपाईंहरुलाई यो पनि भएको भए हुन्थ्यो जस्तो लाग्छ भने कृपया तल कतै कमेन्ट अथवा मेन्सनमा छाड्नु होला। हामी अर्को लेखमा समेट्ने नै छौं ।

यो लेख पढ्दा तपाईले चिनेको कुनै पत्रकारको याद आयो भने कृपया यो लेख उहाँलाई पनि दिनुहोला । यदि तपाई आफैं नै पत्रकार हो र पढ्दै जाँदा तपाईं माथीको कुनै वर्गमा परेको महसुस भयो भने त्यो संयोग मात्र हुने छैन। रासस

प्रतिक्रिया दिनुहोस