धुलोमा बस्छन्, धुलो खाँदै पढ्छन्

वीरेन्द्रनगर । बराहताल गाउँपालिकाको वडा नम्बर २ मा पर्ने गिरीघाट टोल वीरेन्द्रनगर बजारदेखि करिब पाँच किलोमिटर दुरीमा पर्छ । कर्णाली राजमार्गमा पर्ने उक्त क्षेत्रको सडक छेवैमा टहरै-टहराको एउटा बस्ती छ । घनाजंगल रहेको उक्त क्षेत्रमा २०७१ सालमा आएको बाढीका कारण बिस्थापित भएकाहरु टहरा निर्माण गरी बस्दै आएका हुन् । करिब दुईसय पचास घरधुरीभन्दा बढी संख्या रहेको उक्त बस्तीको पारिपट्टि विद्यालयका लागिसमेत एउटा टहरा निर्माण गरिएको छ ।

रानीघाट जाने सडकखण्डको छेवैमा रहेको अस्थायी टहरामा उक्त बस्तीका करिब ८० जना बालबालिका अध्ययन गर्छन् । बाढीका कारण बिस्थापित भएका बराहताल गाउँपालिका- २, सिस्नेरीलगायत भेरी नदीको आसपासको क्षेत्रका नागरिक बिगत सात वर्षदेखि टहरामै दिन बिताइरहेका छन् । बाढीका कारण बस्ती नै बिस्थापित भएपछि सोही स्थानमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयसमेत सार्नुपर्‍यो । टहरामै रात बिताउने उक्त बस्तीका बालबालिकाहरु अध्ययन पनि टहरामै बसेर गर्दै आएका छन् । २०७१ सालमा तत्कालको समस्या समाधानको लागि निर्माण गरिएको टहरा आज पनि फेरिएको छैन । निजी संस्थाको सहयोगमा निर्माण गरिएको टहरालाई व्यवस्थित गराउन सरकारी क्षेत्रबाट कुनै पनि पहल नगरिएको स्थानीयवासीको भनाइ छ ।

सिस्नेरीको बस्ती नै बिस्थापित भएपछि नवज्योती केन्द्र सुर्खेतले २०७१ साल भदौमा उक्त क्षेत्रमा विद्यालयका लागि अस्थायी टहरा निर्माण गरिदिएको हो । तर अहिलेसम्म पनि उक्त टहरा व्यवस्थित हुन सकेको छैन । टहरो मात्रै उक्त क्षेत्रको समस्या होइन खोलावारि बस्ती र खोलापारि विद्यालयको भएकाले वर्षाको समयमा समेत बालबालिकाहरुलाई विद्यालय आउन-जान समस्या छ । रानीघाट सडक खण्डमा दैनिकजसो सयौंको संख्यामा ट्रयाक्टर तथा टिपरहरु गुड्छन् । सडक छेवैमा रहेको विद्यालयका बालबालिकाहरु धुलोबाट समेत प्रभावित छन् । बालबालिकाहरुको टहरो भित्रको बसाई सुरक्षित छैन । घरको टहराले छेक्न नसकेको चिसो र धुलो विद्यालयको छानोले समेत छेक्दैन । टहरो भित्रको चिसो र सडकको धुलोसँग लडीबुडी गर्दै बालबालिकाहरु सुनौलो भविष्य खोज्दैछन् । तर यसमा सम्बन्धित निकायको भने ध्यान गएको छैन ।

कम्तीमा पनि विद्यालय सडकबाट टाढा र सुरक्षित स्थानमा हुनुपर्ने विद्यालयकी प्राधानाध्यापक तारा पोख्रेलको भनाइ छ । स्थायी भवन बनाउन नसके पनि टहरोलाई बालमैत्री बनाउन बारम्बार पहल गरिए पनि सुनुवाई नभएको उनले बताइन् । ‘पहिले त बालबालिकाहरु टहरोभित्र धुलोमै बस्थे । धेरै पहल गरेपछि टहरोको भुईंसम्म ढलान भएको छ,’ उनले भनिन् । टिनको छानो भए पनि भित्ता भने जालीकै भएको उनले बताइन् । टिनको छानोमुनि ढलानमा कुसनमाथि बसेर बालबालिका अध्ययन गर्छन् । गर्मी मौसममा भित्र बस्न सहज भए पनि जाडो महिनामा भने विद्यार्थीहरु भित्र बस्नै नमान्ने प्रधानाध्यापक पोख्रेलले सुनाइन् । ‘नजिकै रानीघाट जाने सडकखण्ड पर्छ । सडकको धुलोले विद्यार्थी नचिनिने भएर घर फर्किन्छन्,’ उनले समस्या सुनाइन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै जोडिएको गाउँपालिका भए पनि बाढीपीडित बस्तीका बालबालिकाहरुको लागि कसैले केही नगरेको उनले गुनासो गरिन् । सहयोगका लागि केही संस्थालाई गुहार गरे पनि बस्ती व्यवस्थापन नभएसम्म केही गर्न नमिल्ने जवाफ आउने गरेको उनले दुखेसो पोखिन् । उनका अनुसार उक्त विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म ५९ जना र बालविकास केन्द्रमा १८ जना बालबालिका अध्ययनरत छन् । उनीहरु धुलोमा पढ्छन्, धुलोमै बस्छन् र धुलोमै खेल्छन् ।

बराहताल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष योवराज कार्कीले बाढीपीडित बस्तीको दिगो व्यवस्थापन नभएसम्म विद्यालयको समस्या उस्तै रहिरहने तर्क गरे । सडक छेउमा रहेको विद्यालय सुरक्षित स्थानमा सार्नको लागि पहल गरिए पनि सामुदायिक वन क्षेत्र पर्ने भएकाले सम्भव नभएको उनले सुनाए ।

गाउँपालिका प्रमुख तेजबहादुर बस्नेतले पनि बाढीपीडित बस्तीको दिगो व्यवस्थापन नगरेसम्म विद्यालयको समस्या समाधान गर्न नसकिने तर्क गरे । ‘कि त कानुनी व्यवस्था परिवर्तन गर्नुपर्छ । नत्र बस्ती व्यवस्थापनको अधिकार हामीलाई छैन । विद्यालय मात्रै कसरी व्यवस्थापन गर्ने ?’ उनले भने । उनले विद्यालयको स्थायी संरचना निर्माण उक्त स्थानमा गरेपछि बस्ती स्थानान्तरण हुनेबित्तिकै फेरि विद्यालयसमेत सार्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।

विद्यालयमा दुईजना शिक्षक र एकजना कार्यालय सहयोगीको दरबन्दी छ । नवज्योती केन्द्रले एकजना शिक्षक र सामुदायिक वनले एकजना शिक्षकको व्यवस्थापन गरिदिएको प्रधानाध्यापक पोख्रेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस