दाहाल–नेपाल समूहद्धारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोष्णा गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तय भएको छ । प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ । यो समूहले सोही दिन नै २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

त्यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।

बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस