उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डले मन दुखाउलान् भनेर मात्र अध्यक्ष पद दिएको बताएका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले भने, ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे !’

अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् ।

ओलीको भनाइ थियो- खै कसले अनुशासनको कारवाही गर्ने रे भन्ने सुनेँ,प्रचण्डले मलाई के कारवाही गर्नु ? मैले उनको भन्दा १० वर्षअघि पार्टी सदस्यता लिएको हुँ । यस्ता कारवाही त सीपी र आरके मैनालीले मलाई २०२८ सालमा पनि गरेका थिए । तर पछि प्रहरीले खोज्ने बेला मलाईनै पार्टीको कमाण्डर ठानेर खोज्यो ।

भेलामा प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नुको कारणबारे ब्रिफिङ गरेका थिए ।

भेलामा प्रधानमन्त्री ओलीले नेकपा सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेललाई दायाँबायाँ राखेका थिए । प्रधानमन्त्रीसँगै अघिल्लो कुर्सीमा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र आपूर्तिमन्त्री लेखराज भट्ट पनि थिए ।

भेलामा ओलीनिकट मन्त्रीहरु सहभागी छन् । बिघटित प्रतिनिधिसभाका सांसद महेश बस्नेत, गोकुल बास्कोटा, किसान श्रेष्ठ पनि सहभागी थिए ।

प्रचण्डलाई मैले पनि चिनेको छु : लेखराज भट्ट

उद्योगमन्त्रीसमेत रहेका नेकपाका नेता लेखराज भट्टले आफूले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पनि राम्रोसँग चिनेको भन्दै अहिले केपी ओली नेतृत्वको सरकारविरुद्ध लाग्नुपर्ने कुनै कारण नभएको बताएका छन्।

बालुवाटार भेलामा आफ्ना धारणा राख्दै उनले भनेका थिए, “म पहिला पनि प्रचण्डसँग हिँडेको हुँ । केपी ओली नेतृत्वको सरकारले नराम्रो गर्यो भन्ने अवस्था थिएन । अहिले प्रधानमन्त्री हटाउने पर्ने अवस्था थिएन । यो सरकारको पक्षमा उभिनका लागि यो भेलामा सहभागी भएको हुँ ।”

प्रतिक्रिया दिनुहोस