काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सरकारको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो। शर्माले सरकार बने पछाडि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत रहने उल्लेख गर्नुभयो ।
पार्टी सभापति शेरहादुर देउवाले हिजो वक्तव्य जारी गर्दै आजको प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको बताउनुभएको छ । देउवाले सरकारप्रति जनताको वितृष्णा व्यापक रुपमा बढेकोले सडकमा उत्रन काँग्रेस बाध्य भएको उल्लेख गर्नुभएको छ ।
प्रतिपक्षका रूपमा काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आउँदा पनि वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझेको र भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको देउवाको आरोप छ ।
देउवाले प्रदर्शनमा सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ । काँग्रेसले ७७ जिल्लामै सरकारविरुद्ध सडकमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन प्रभावकारी बनाउन काँग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।