ललिता निवास जग्गा प्रकरणका आरोपित दीप बस्न्यात विशेष अदालतमा हाजिर 

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपित एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा हाजिर भएका छन् । कानुन व्यवसायीसहित बस्न्यात अदालतमा हाजिर भएका हुन् ।

बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा बस्न्यातसहित १७५ जनाविरुद्ध २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता भएका थियो ।

बस्न्यातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको दाबी छ ।

बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । बस्न्यातको आइतबारै थुनछेक बहस हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस