काठमाडौं । गएको निर्वाचनमा गायक बद्री पंगेनीले ‘सै पनि एमाले’ गाएका थिए। त्यसले उनको सार्वजनिक छवि ‘एक पार्टी’को बनाइदियो। त्यो बेला माहोल नै त्यस्तै थियो। झुकावमा बामपन्थीतिरै भएका बद्रीको के कुरा भयो र ? त्यो गीत लेखेर गाउन उक्साउने व्यक्ति कांग्रेस समर्थक थिए। अर्थात् त्यो समय झन्डै दुई तिहाइ जनता ‘बाम’ थिए।
माहोलमा मिसिएका गायक पंगेनीले भने त्यही गीतका कारण अहिले पनि घोचपेच खेप्नुपर्छ। सामाजिक सञ्जाल ट्विटरमा उनी उपस्थित भएदेखि नै त्यही गीतका कारण व्यंग्य बेहोर्नु परिरहेको छ। त्यसैले आफ्ना नयाँ गीत ‘तिम्रो घरमा मेरी छोरी’ ट्विटरमा सार्वजनिक गर्दै लेखे, ‘पार्टीका गीत नगाउ भनेपछि यस्तो गीत गाइयो, हेरेर प्रतिक्रिया दिनुहोला।
गीत सार्वजनिक भएदेखि पंगेनीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेका छन्। ‘सै पनि …’ गाउनेको ‘सही’ गीतका रुपमा दर्शकस्रोताले यसलाई लिएका छन्। उनको नयाँ गीत ‘हाम्रो घरमा तिम्री छोरी’ जातीय विभेद लिएर बनाइएको छ । जहाँ भनिएको छः
दोस्रो पुस्ता जातीय विभेद मेटाउन थाले पनि अघिल्लो पुस्तामा अझै छेकबार रहेको विषयलाई गीतमा उठाइएको छ। अझै मानवीय चेतना र कानुनी प्रावधान आमजनसम्म पुर्याउन मुश्किल परिरहेको परिस्थितिलाई लिएर नारायण ज्ञवालीले उक्त गीत लेखेका हुन्।
गायक पंगेनीकै संगीत रहेको गीतमा नारी आवाज अहिलेकी रुचाइएकी गायिका रचना रिमालको छ । गीतको म्युजिक भिडियोको निर्देशन पनि पंगेनीकै रहनुले यो गीतमा उनको अतिरिक्त लगाव देखिन्छ। गीको म्युजिक भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टिका जैशी, रश्मि भट्ट, कृष्ण बराल र मनिषा राउतले अभिनय गरेका छन्।
लोकदोहोरी गायकका रुपमा उनलाई पहिचान दिलाउने अरु प्रशस्त गीत छन्। तर, लोकप्रिय गायक बनाउने काम उनलाई यस्तै गीतले गरेका हुन्। यसअघि पनि उनले श्रीमान् बितेपछि एकल जीवन बिताउनुपर्ने विषयमाथि ‘लाउ चेली सिन्दुर लाउ’ गाएका थिए।
गणतन्त्र आए पनि निम्न वर्गकाहरुको जीवन उस्तै रहेको विषयमाथि पनि उनले ‘जनताको शासन’ गाए। जुन गीतले पनि व्यापक चर्चा पायो। यसरी बनाएको सार्वजनिक छविलाई उनले गएको निर्वाचनमा ‘कुनै पार्टी’को बनाइदिएका थिए। गीत ‘सै पनि …’ भए पनि उनको त्यो कदम धेरैले ‘सही’ ठहर्याएनन्। यो गीतबाट त्यो छवि फर्काउने प्रयास उनले गरेका छन्।