काठमाडौं । नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई गिरफ्तार गरी छानविन गर्नुपर्छ भन्दै प्रदर्शन गरिने भएको छ । आइतबार नेकपा स्थायी समिति बैठक डाकिएको छ । सो बैठक बालुवाटारमा हुने भयो भने बालुवाटारमा, केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भए त्यहीँ प्रदर्शन गरिने भएको छ ।
‘नारायणकाजी श्रेष्ठलाई गिरफ्तार गरेर कमानसिंह लामा प्रकरणमा छानविन गरिनुपर्छ । नारायणकाजी, उहाँकी स्वकीय सचिव सुसन कर्माचार्य लगायतको सम्पत्ति छानविन गरिनुपर्छ । यही माग राखेर हामी युवाहरुले प्रदर्शन गर्दैछौं’– सागर दाहालले बताउनुभयो । युवा अभियन्ता सागरले आइतबार प्रदर्शनीमा आउन अपिल पनि गर्नुभएको छ ।
नारायणकाजीलाई गिरफ्तार गरिएन भने उहाँले पदीय प्रभाव प्रयोग गरेर छानविनबाट जोगिन प्रयास गर्ने सागरले बताउनुभयो । उहाँको भनाई छ– ‘त्यसैले गिरफ्तार गरेर छानविन गरिनुपर्छ ।’ सुसन कर्माचार्य र इन्द्रमाया लामालाई पनि गिरफ्तार गरेर छानविन गरिनुपर्ने उहाँले बताउनुभयो ।
दुई पटक सांसद् तथा एकपटक राजदूत भइसक्नुभएका कमानसिंह लामाको गत बुधबार निधन भएको थियो । निधन हुनु अघि उहाँले फेसबुकमा लेखेर नारायणकाजीले आफूलाई अढाई करोड रुपैयाँमा डुबाएको र पत्नीसँग सम्बन्ध पनि छुटाइदिएको लेख्नुभएको थियो । कमानसिंहकी पत्नी इन्द्रमाया तामाङले पनि नारायणकाजीकै पक्ष लिएर विज्ञप्ति जारी गर्नुभएको छ ।
अढाई करोड रुपैयाँ उठाउने क्रममा कमानसिंहले केही महिना अघि नारायणकाजीसँग गर्नुभएको कुराकानीको अडियोभिडियो सनराइज खबर डटकमले सार्वजनिक गरेको थियो । नारायणकाजीले सो अडियोभिडियोमा आफूले समन्वयकर्ताको भूमिका निर्वाह गरेको प्रष्ट बुझिने दावी गर्नुभएको छ । तर, सो संवाद्मा उहाँले सुसनको पक्ष लिँदै ‘तपाईंहरु मिल्नुस्’ भन्नुभएको छ ।