काठमाडौं । २३ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनर्मिलन भएको छ । २०७५ पुस २७ गते पार्टी विभाजित भएका दुई दलबीच आज पुनः एकीकरण भएको हो ।
आज दिउँसो दुबै पार्टीले अनलाइनमार्फत एकता भएको घोषणा गरेका छन् । एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् ।
एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र मिश्र रहनेछन् भने संयोजक मिलन पाण्डे रहने छन् । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुने र लोगो र चुनाव चिह्न ‘तराजु’ हुनेछ ।
एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्य रहने गरी कुल एक सय ३० जना केन्द्रीय सदस्य हुनेछन् । एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट १३-१३ जना मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ ।