सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर

काठमाडौं । विश्वकै अग्लो हिमाल सगरमाथाको उचाइ बढेको छ। फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफलपछि सगरमाथाको बढेको उचाइ सार्वजनिक गरिएको हो।

अब सगरमाथाको उचाई ८८४८.८६  मिटर भएको छ। यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो।

नेपाल र चीन दुवै देशका सरकारी प्रतिनिधिहरुको भर्चुअल कार्यक्रमबाट दिउँसो पौने २ बजे औपचारिक कार्यक्रममार्फत् एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी गरिएको हो।

नेपालले आयोजना गर्ने कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

नेपाल र चीनका प्राविधिकहरुको, सरकारी अधिकारीहरुको संयुक्त प्रयासमा सगरमाथाको नयाँ उचाई प्राप्त भएको नेपाल सरकारले जनाएको छ।  गत मंसिर १० मा मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणाको स्वीकृति दिएको थियो।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्षअघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो। चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो।

उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, चीन सरकारका परराष्ट्रमन्त्री वाङ यी दुवै देशका अधिकारीहरुको सहभागिता थियो।

‘सगरमाथा नेपाल र चीनको सम्बन्ध विस्तारको आधार पनि बनेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘दुई देशको प्राविधिकहरुको सहकार्यमा भएको सफल कार्यको लागि बधाई भन्न चाहन्छु।’ उनले यसले नेपाल र चीनको बलियो पारिवारिक सम्बन्धमा थप टेवा पुर्याएको पनि बताए।

नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको पनि उनले बताए। त्यस्तै विकासमा नेपाल चीन सधैँ साझेदारी गर्ने पनि बताए। सामाजिक विकासको लागि दुई देशको मित्रताले ठूलो योगदान दिने उनको भनाई छ। परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको नयाँ उचाई ८८४८.८६ भएको पनि बताए।

यसअघि मापन गर्दा कतिसम्म पुग्यो सगरमाथाको उचाइ ?

सगरमाथाको उचाइ पहिलोपटक १९ औं शताब्दीमा ‘द ग्रेट ट्रिगोनोमेट्रिक सर्वे’ अन्तर्गत ‘ब्रिटिस सर्भे अफ इण्डिया’ले मापन गरेको थियो । त्यसताका ८,८४०.५० मिटर उचाइ सार्वजनिक गरिएपनि त्यसलाई आधिकारिक मानिएन किनकी सो काम असाध्यै पुरानो प्रविधिको प्रयोगबाट सम्पन्न गरिएको थियो ।

त्यसपछि, सन् १९५४ मा ‘सर्भे अफ इण्डिया’ले मापन गर्दा सगरमाथाको उचाइ ८,८४८ मिटर निस्कियो जसलाई हामीले अहिलेसम्म आधिकारिक उचाइ मान्दै आएका थियौं ।

यसका अतिरिक्त पनि विभिन्न राष्ट्रहरुले आआफ्नै तरिकाले धेरैपटक सगरमाथाको उचाइ मापन गरेका छन् । सन् १९७५ मा चीनले मापन गर्दा ८८४८.१३ मिटर उचाइ निकालेको थियो भने सन् २००० मा अमेरिकाले मापन गर्दा ८,८५० मिटर उचाइ रहेको पुष्टि गर्‍यो ।

सन् २००५ मा चीनको ‘नेशनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङ’ले मापन गर्दा ८,८४४.४३ मिटर उचाइ भएको पुष्टि गरेको थियो ।

सगरमाथाको बारेमा केही तथ्यहरु

– नेपालको प्रदेश नं १ को उत्तरपूर्वी भेगस्थित सोलुखुम्बु जिल्लामा रहेको सगरमाथा नेपाल र तिब्बतको सिमानामा पर्दछ ।
– शुरूमा ‘पिक ’ नामाकरण गरिएको सगरमाथालाई सन् १८६५ मा सर्वे अफ इण्डियाका तत्कालीन सर्वेयर जेनरल कर्णेल जर्ज एभरेष्टको सम्मानस्वरुप उनैको नामबाट माउन्ट एभरेष्ट नामाकरण गरिएको थियो ।
– नेपाली नाम ‘सगरमाथा’ राख्ने श्रेय भने इतिहास शिरोमणि बाबुराम आचार्यलाई जान्छ ।
– सगरमाथालाई तिब्बती भाषामा छोमोलुङ्मा भनिन्छ जसको अर्थ हो ‘पवित्र आमा’ ।
– पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा हुन् ।
– प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा हुन् ।

प्रतिक्रिया दिनुहोस