काठमाडौ – साइप्रसको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आइतबार राति आत्महत्या गरेकी छिन् । दोलखा जिल्लाको गौरीशंकर गाउंपालिका वडा नम्बर ८ खरे घर भएकी हाल साइप्रसमा घरेलु कामदारको रुपमा कार्यरत २३ बर्षिया शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाएको छ ।मृतक तामाङ २०१९ साल अक्टोबर महिनामा काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साइप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी साइप्रसका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डा. रामजीवन पन्जियारले जानकारी दिएका छन् । मृतक तामाङको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाइने डा. पन्जियारले बताए ।मृतक युवती वैवाहिक सम्बन्धमा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार श्रीमान सुबिनको बलेरो दुर्घटनामा मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।
मृतक युवतीले टिकटक भिडियोमा आफ्ना आमाबुबा, सासू ससुरासंग माफी माग्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको उल्लेख गरेकी थिइन् । उनले टिकटकमा मृतक श्रीमानको दुर्घटनाको फोटो राख्दै भनेकी थिइन् – ‘मिस यु मुटु । म आउँदैछु । हामी भेट हुनुपर्छ है ।’