राजा आऊ देश बचाउ होइन, जनता आऊ राजा ल्याऊ देश बचाऔँ भनौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा थापाले स्वःस्फूर्त रुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए । जनताले राजालाई ल्याउनुपर्ने भन्दै उनले अघि भने, ‘राजा आऊ देश बचाउ होइन, जनता आऊ राजा ल्याऊ देश बचाऔँ भनौं ।’

राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे । उनले चुनाव चिन्ह हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको समेत बतँएका छन् । ‘हिन्दु राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गर्‍यौं । हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ,’ उनले थपे, ‘हलो भनेको भगवान बलरामको प्रतीक हो । हामिले यो चिन्ह कायम गर्ने सौभाग्य पायौं, यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन ।’

त्यस्तै अर्का अध्यक्ष पशुपति शमशेर जबराले सरकारले सिन्को पनि नभाँचेको आरोप लगाएका छन्। ‘मुलुक अहिले नराम्रो अवस्थामा छ । दुई तिहाई सरकार दुई वर्षमा दिशाहीन उपलब्धिहीन बाटोमा छ । सरकारले सिन्का भाच्न सकेको छैन,’ उनले भने, ‘सरकारसँग केही ठोस बाटो छैन । काण्डको नाम लिन साध्य छैन ।’ भन्दै खरो रुपमा बोकेका थिए।

प्रतिक्रिया दिनुहोस