क्लीभेज

काठमाडौं । “पहिलो फोटो दाम्मी छ!”

३-४ वटा फोटो सञ्जालमा हालेको केही मिनेटमै आएको प्रतिक्रिया थियो। प्रतिक्रिया सोझै पब्लिक नभई प्राईभेट म्यासेजमा जिब्रो निकालेको इमोजीसंगै थियो। टाइमलाइनमा फेरी फर्केर फोटो जुम गरेर हेरे। जुम गर्दा मात्रै थाहा हुने गरि फिटिङ कपडामाथी अलिकती क्लिभेज देखिएको रहेछ। गिद्धेआंखाले भेटिहालेछ, व्वांसोपन जागिहालेछ। कमेन्टमा रिस भन्दा दया लाग्यो। उनि अरू यस्तै फोटो देखाउन याचना गर्दै थिए।

एउटा फोटोले कुनै अपरिचितलाई डिएमसम्म तान्न सक्ने मेरो फोटोमा अरू कुनै खुबी थिएन। उनलाई सार्वजनिक रूपमा प्रतिक्रिया जनाउनै मात्र पनि यहि क्लिभेजले रोकेको थियो। उनलाई के पनि बिश्वास थियो भने यहि देखाउनै नहुने अङगलाई लिएर उनले जे जस्तो माग गर्न सक्थे र म एक अपराधी झैं उनका माग पुरा गर्दै जान्थे। अनी महासयले सुनखानी नै भेटिए जस्तो गरी उत्साहित हुदै सोधे “कुन साइज हो?”

सामाजिक सञ्जालमा हालिएका फोटाहरू ग्रुपच्याटसम्म पुऱ्याउने, उनिहरूको कुण्ठित भावनालाई स्वप्न शयर गराउने कैंयौं आफ्नै फोटोबारे महिलाहरू अनभिज्ञ हुन्छन।

नदेखाउने भए किन फोटो हाल्या त? भन्ने पनि हुन सक्छ, तर यसमा मेरो सिधा जवाफ छ, जती देखाएको छ, हेर्न मन भए त्यती नै हेर्नुस। म्यासेज बक्समा अरू माग्दै नआउनुस।

हुन त सञ्जालमा मात्रै नभै कहिं पनि जमघटमा “लुगा माथी तान” भन्ने अथवा भन्न नमिल्ने अवस्थामा आँखाको ईशाराले माथी तान भन्ने समाजमै लुगा तान्दै हुर्किएको हो। ब्राको स्ट्राप त जो कोहीले सोध्दै नसोधी छोपिदिन्थे। यसमा कन्सियस्ली सजग भई रहन्छु म। तर फोटो खिच्दा कहिं न कहिं देखिन्छनै। कतिपय फोटोहरु असाध्यै मन परेको हुन्छ, प्रकाश सम्योजनदेखी लिएर पछाडीका मनोरम दृश्यहरु मन लोभ्याउने किसिमको आएको हुन्छ, तर त्यही क्लीभेज र ब्राको स्ट्राप देखिएकै भरमा ति फोटाहरु मेमोरीकार्डमा नै सहीद भएर बसेका हुन्छन, कुनै कुनै बेला अतीनै मन परेर पोस्ट गरिन्छ, त्यो बेला समग्र तस्वीर मन परेको हुन्छ, तर हेर्ने मान्छेको ध्यान भने अन्त कतै हुदैन, त्यही हुन्छ जहाँ नहुन पर्ने थियो। निर्धक्क मुस्काएको फोटोमा देखिएको क्लीभेज लिएर प्रतिक्रिया दिन्छन, अनी त्यो मुस्कान आफैलाइ घाँडो लाग्छ।

यहाँ कुरा क्लीभेज देखिएको फोटोले मेरो डिएमसम्म पाल्नु भएका सज्जनको मात्र होइन, यहाँ कुरा गर्न खोजिएको नियत हो, आसय हो। समाजले कोरिदिएको पहिरनको परिभाषालाइ चाहेर वा नचाहेरै मतलब नगर्दा त्यसले निम्त्याउने पुरुष मानसिकता हो। क्लीभेज देखिएको फोटोलाइ सार्वजनिक आमन्त्रण ठानी आफ्नो पुरुषार्थ देखाउन तम्तयार सेनाको हो। यसैविच एउटा प्रसङग स्मरण गर्न चाहन्छु। कुरा केही पहिलेको हो तर सान्दर्भिक हुन सक्छ। दाई भनेर आस्था गरिएका एक सज्जनले बैनी आउनुस भेटौं, कफी पिउँ, गफगाफ गरौं भन्नु भयो। एकछिन भएपनि बसिबियालों हुन्छ भनेर निमन्त्रणा स्वीकार गरेर बोलाएको कफीपसलमा पुगे, कफी मगाउदा दाइले म त कफी खान्न भनेर केही पनी लिनु भएन। कफिपसलमा कफि नै खाने निम्तो दिएर वँहाले कफि खानुभएन। अग्लो गोलाकार टेबुलमा आमने सामने भएर बस्यौ, गफ गर्दै थियौं, म निर्धक्क कफी पिउदै थिए। अचानक दाइको हात लम्केर मेरो छातीसम्मै पुग्यो, म तर्सेर पर सरे। दाइले मेरो उल्टो भएको पेन्डेन्ट मिलाइदिन खोज्नु भएको रहेछ, गफहरुका विच मेरो उल्टीएको पेन्डेन्टले दाइलाइ श्वास फेर्नै गाह्रो भएको रहेछ क्यारे, हातै हालेर मिलाइदिने कोशिस गर्नु भयो। म तर्सेर पछी सर्दा सबैले हेरे, दाइले मलाइ बेइज्जत गरिस सबको अगाडी जाँउ बाहिर भन्नु भयो। वँहाको इच्छा आफ्नै गाडीसम्म लाने रहेछ तर वँहाको आग्रह अस्वीकार गरेर म आफ्नै बाटो लागे। यसरी म एक अती नै सम्माननिय दाइको पन्जाबाट फुत्केर हिडे।

कहिलेकाँही यसरी क्लिभेजमा भएका चुम्बकीय आकर्षण जसलाई देखेर कोही नियन्त्रीत नै हुन किन सक्तैनन ? आश्चर्यचकित हुन्छु।

फोटोकै कुरा गरौ। हामीले के बुझ्न जरुरी हुन्छ भने त्यस्तो फोटो जानी जानी नै पोस्ट गरेको खन्डमा पनि त्यस्तो फोटो हाल्या छ पक्कै यौनिक कुरा गर्न खोज्या होला भनेर समाजसेवामा हामफालीहाल्नु हुदैन। देखाएसी हेरिन्छ, नापिन्छ, कल्पना गरिन्छ भनेर तर्क गर्नेहरुपनी छन, तिनलाइ म नहेर्नुस, ननाप्नुस, कल्पना नगर्नुस भन्न सक्दिन, तर मेरो दैलोमा नै गएर महिलालाइ नै तिम्रो फोटोले मेरो दिमाग खल्बलायो, भन्ने जस्ता कुरा चांही नगर्नुस। त्यस्तो काम एक त शोभनिय हुदैन अनी सामाजिक अपराध पनी हो। एउटा महिलाले आफ्नो बस्त्र पहिरनलाइ आफ्नो हिसाबले लगाउन पाउछिन, तर त्यसको अर्थ तैले खोजेको यही हैन? भनेर ठोकुवा गर्नु, अनी ल आइज न यसो गरम भन्नु! सरासर गलत हो।

इन्टरनेटको जमाना छ, क्लीभेज मात्र हैन सर्वाङग महिला पुरुषका तस्वीर, चलचित्र बल्ग्रेती भेटिन्छन, आफ्नो सुसुप्त यौन कुण्ठा मेटाउन परेमा आवश्यक सामाग्री जती पनी भेटिन्छन। उपलब्ध साधनस्रोतको प्रयोग नगर्ने, तर अनिच्छुक महिलालाइ अली क्लिएर तस्वीर पठाउ भनेर म्यासेज गर्नु सरासर गलत हो, त्यो यौन हिंसा हो। यदी महिलाले त्यस्तो चाहन्थिन भने ति तस्वीर बाहिर सबैले देख्ने गरी नहालीकन, हजुरलाइ मात्रै म्यासेजमा पठाउथिन होला! त्यो कहिल्यै सोच्नु भएको छ?

डिएमसम्म आउने भनेका अपरिचित मात्र होइनन, परिचित र साथी भनिएकाहरु नै हुन्छन। आफ्नो ठानेका नै हुन्छन। मैले आत्मिय सोचेका कैयौं यस्ता निस्कीए तिनीहरुले एउटा न एउटा कालखण्डमा पुगेर मलाइ एउटा बस्तु बनाए। साथीहरुको माझ निर्धक्क हुन पाउनु पर्ने एउटा अधिकार जस्तै हो, तर साथी भनिएकैहरु माझ बस्त्रले यती ढाकेन भनेर नियत फेरिएको देख्दा दु:ख लाग्छ।

बर्षौं कुरा गरेका, तर कहिल्यै त्यो हिसाबले कुरा नगरेका, आफ्नै जस्ता पनी एउटा क्लीभेजले मित्रवत व्यबहार बिर्सेर अर्कै रुपमा अगाडी आउदा आखिर किन? भनेर प्रश्न सोध्न कर लाग्ने रहेछ। म पहिला साथी नै थिए की कुन दिन यस्ले क्लीभेज देखिएको फोटो हाल्छे र झम्टिम्ला भनेर धैर्यताको साथ पर्खिएको पोखरीको माछा थिए?

प्रतिक्रिया दिनुहोस