तनहुँ । तनहुँको विवादित बुल्दीखोलाको पुल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै उद्घाटन गर्ने भएका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको विवादका कारण ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको अन्तर्गत बुल्दीखोलामा पुल बिहीबार नेता पौडेलले नै उद्घाटन गर्ने तयारी गरेका हुन् ।
यसअघि हिजो तत्काल पुल उद्घाटनको कार्यक्रम रोक्न जिल्ला प्रशासनले पत्र काटेको थियो । कांग्रेसलाई रोक्न नेकपाका नेता कार्यकर्ताले प्रदर्शन गरेर पुल उद्घाटन कार्यक्रम नै रद्द भएको थियो । सोही क्रममा वरिष्ठ नेता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।
पौडेलसहित केही नेतालाई प्रहरीले प्रक्राउ गरी निषेधाज्ञा अवधि सकिएपछि रिहा गरेको थियो । पौडेललाई प्रहरीले नियन्त्रणमा लिएसँगै कांग्रेसले टायर बाल्दै आन्दोलनसमेत गरेका थिए । प्रहरी नियन्त्रणमै रहँदा पौडेलले केपी ओली सरकारले सुनियोजितरुपमा आफूलाई पक्राउ गरेको र यसको देशैभरि प्रतिवाद हुने बताएका थिए ।
कांग्रेसले आज दमौली बजारमा प्रदर्शनका लागि आहृवान गरेको छ । वरिष्ठ नेता पौडेलसहित माथि सरकारले अधिनायकवादी शैलीमा धरपकड र दमन गरेको भन्दै वरोधमा विशाल प्रदर्शन गर्ने र जुलुससहित बुधबार अधुरो रहेको पुल उद्घाटत सपना पूरा गर्ने तयारी कांग्रेसको छ । रासस