सर्लाहीको सतिविहुला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बन्ने लगभग पक्का: नेता साह

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साह सहितको पत्रकार, बुद्धिजीवी, नेता, सामाजिक अभियन्ता, विद्यार्थि लगायत विभिन्न विधाका अगुवा व्यक्तित्वहरु सम्मिलित टोलीले सर्लाहीको पर्सा गपा – , संग्रामपुर स्थित सतिविहुला पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन गरेका छन् ।

भ्रमण पश्चात समाजिक सञ्जाल फेसबुक मार्फत युवा नेता साहले भने, “सतिविहुलाको महिमा, महत्व एवं गौरवपूर्ण गाथाहरु नजिकबाट सुन्दा र बुझ्दा यो केवल सर्लाही जिल्ला वा प्रदेश नंबर २ को लागी मात्र नभई सिङ्गो मुलुककैं लागी एउटा गौरवको सम्पदा हो । तसर्थ, यस ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको सम्पदालाई थप व्यवस्थित ढंगबाट सौन्दर्यीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छापा, अडियो – भिडियो सामग्री, फिल्म डकुमेन्ट्री लगायतका विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गर्नुपर्ने अपरिहार्यता महशूस गरेको छु ।” जसको प्रभावले गर्दा यस ऐतिहासिक पवित्र पावन धर्तीको पुरानो विरासत र गौरवपूर्ण गरिमालाई पुर्नजीवित गर्न विशेष मद्दत पुग्ने नेता साहको विश्वास छ ।

युवा नेता साहले अगाडि भने, “हामीले प्रदेश २ को विभिन्न पर्यटन सम्पदाहरुलाई जोडेर एउटा बहुआयामी मजबूत पर्यटन सर्किटको विकास गर्न सक्यौं भने, यो क्षेत्र राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटनका लागी विशेष आकर्षणको केन्द्र बन्ने लगभग पक्का छ ।” त्यसैले, यसप्रति तिनै तहका सरकार तथा सबै सरोकारवालाहरुको समयमैं गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

सतिविहुला, बालालखिन्दर, मनसा (जयाविषहर – विष कन्या), चन्नु साह (बनिया), बेच्चु साह, गेउरका नदी, सुरुङ्गमार्ग, छौ (६) स्नान घाट, सिन्दूर धोई पोखरी, काजर धोई पोखरी, चौरधोईन पोखरी, लवका सडक, जर्लाही पोखरी लगायतका पात्र र सम्पदाहरु विशेष महत्वपूर्ण रहेको यस पर्यटकीय क्षेत्रमा पुरातात्विक उत्खनन सहितको थप अध्ययन – अनुसन्धान जरूरी रहेको नेता साहको ठहर छ ।

सतिविहुलाको जीवनसंग अन्तरसम्बन्धित लोकगाथा, परम्परा, किवदन्ती, मौजूदा भौतिक सम्पदा एवं संरचनाहरू, जनमानसमा मन्दिरप्रतिको आस्था एवं विश्वास, आन्तरिक एवं वाह्य पर्यटनका संभावना र चुनौती लगायतका विविध विषयबस्तुहरु बारे प्रारम्भिक चरणको संक्षिप्त अनौपचारिक विमर्श भएको नेता साहले जानकारी गराएका छन् ।


केहि चाटुकार भ्रष्ट नेताहरु मिलेर कथित उपभोक्ता समितिको नाममा कमाई खाने भाडो बनाएको दुखद आरोप एवं आक्रोश स्थानीयवासीहरुद्वारा व्यक्त भएकोले सतिविहुला सम्पदा क्षेत्रलाई दिर्घकालसम्म पार्दर्शि, व्यवस्थित एवं भरपर्दो ढंगबाट सञ्चालन गर्न नेपाल सरकार मातहत रहने ट्रष्ट मार्फत अगाडि बढाउन जरूरी रहेको नेता साहको ठहर छ ।

अन्त्यमा युवा नेता चन्द्र भुषण साहले भ्रमण तथा अवलोकन कार्यमा विशेष सहयोग एवं सहजीकरण गरेको भन्दै मन्दिरका पुजारी बाबा र स्थानीय साथीहरुप्रति हार्दिक आभार सहित भ्रमण टोलीका सहकर्मी मित्रहरुलाई विशेष धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस