रौतहट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो पहलमा देवाही गोनाही नगरपालिकामा आगलागीबाट जलेर नष्ट भएका दलितहरूको घर निर्माण गराउने घोषणा गरेका छन् ।
आइतबार दिउसो देवाही गोनाही नगरपालिका-७, गोनाहीको दलित वस्तीमा भीषण आगलागी हुँदा ७ घर जलेर नष्ट भएको थियो भने २० लाखभन्दा बढीको क्षति भएको थियो । सोमबार सांसद प्रभु साहले पठाएको राहत लिएर गएका जनप्रतिनिधि तथा नेताहरुको टोलीले सांसद साहको संदेश सुनाउदै ७ वटै दलित परिवारलाई पक्की घर बनाउने घोषणा गरे । उनीहरुले सांसद साहको तर्फबाट राहत स्वरुप ग्यास सिलिन्डर तथा चुल्हो, २५ किलोको एक/एक बोरा चामल, ५ किलो दाल तथा प्रति घर एक/एक हजार रुपैयाँ पीडितलाई हस्तान्तरण गरेका छन।
सांसद साहका स्वकीय सचिव विजय यादवसहित घटनास्थलमा संघीय सांसद समिना हुसेन, प्रदेश सांसद कुन्दन कुश्वाहा, देवाही गोनाहीका नगर उपप्रमुख परनिया देवी, मेयर प्रत्यासी प्रेमलाल साह एवम् धर्मेन्द्र पटेललगायतका नेताहरु घटनास्थल पुगेर राहत वितरण गरेका थिए ।