चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीका कार्यकर्ताले गृह जिल्लामै कालो झण्डा देखाएर लखेटेका छन्। आक्रोसित कार्यकर्ताले पाण्डेले सम्बोधन गरिरहेको कार्यक्रम नै बिथोलेर बोल्न समेत रोकेका थिए । पूर्वअर्थमन्त्री पाण्डे चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले आफ्नै निर्वाचन क्षेत्रमा जनताको तिरस्कारमा परेका हुन् । उनले हिजोदेखि नै पार्टी कमिटीलाई नगर तथा निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्तालाई भेला गराईदिन आग्रह गरेको र सोही अनुसार नै कमिटीले आज कार्यक्रम आयोजना गरेको थियो ।
गुटबन्दीमा लागेको भन्दै राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा स्थायी कमिटी सदस्य पाण्डेलाई आफ्नै कार्यकर्ताले बहिष्कार गर्दै कालोझण्डा देखाएर नाराबाजी गरेका हुन । विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध शब्दहरु प्रयोग गर्नथालेपछि कार्यकर्ताले पाण्डेको बिरोध गरेका हुन् ।
पाण्डेले प्रधानमन्त्रीविरुद्ध अनावश्यक आक्षेपहरु समेत लगाउन थालेपछि कार्यकर्ताले पाण्डेलाई कार्यक्रम स्थलबाट बोल्नै नदिई लखेटेका हुन् । कार्यकर्ताको खेदाइकाबीच हलबाट बाहिरिदैँ पाण्डेले आफ्नो बिरोध गर्नेलाइ एक÷एक गरी समाप्त पार्ने चेतावनी दिए ।