इन्टर्भलसम्म पनि नबाँची बिदा हुने प्याराे साथीकाे नाममा

काठमाडौं । असामान्य रूपमा सामान्य थिए गोकर्ण गौतम। यो नै उनको परिचय थियो ।
तर उनको आँखा तीक्ष्ण । आम पत्रकारले औसत ठानिरहेको दृश्यमा उनी सम्भावित रिपोर्टिङको विषयवस्तु देखिरहेका हुन्थे । नेपाल म्यागजिनमा छँदा उनले गरेको कैलाशकुट दरबारको रिपोर्ट एउटा मानक हो, जो ४ लाखभन्दा बढीले फेसबुकमा मात्रै शेयर गरेका थिए ।

नेपालमा कुनै अफबिट र मन छुने कभर स्टोरी छापियाे भने त्यसमा गाेकर्ण गौतमको बाइलाइन हुने सम्भावना शतप्रतिशतजस्तै हुन्थ्यो ।

र्‍यापर भिटेनलाई पुलिसले पहिलोपल्ट समातेसँगै अभिव्यक्ति स्वतन्त्रता र अराजकताबीचको भेदलाई लिएर बौद्धिकवृत्त विभाजित भएको थियो । न्युजरुममा त्यसको प्रतिविम्ब भेटिनु स्वाभाविक थियो । नेपाल म्यागजिनको सम्पादकका रूपमा मैले यो घटनालाई जुन कोणबाट सोचिरहेको थिएँ, गोकर्ण त्यसमा अझै प्रष्ट थिए । उनले तुरुन्तै भिटेनसम्बन्धी रिपोर्ट गरे । पुलिसले अनधिकृत विषयमा हात हालेर गरेको गल्तीबारे उनले खुलेर लेखे । हामीले त्यसलाई प्रमुखतासाथ छाप्यौँ । उनले फलाेअप लेखिरहे ।

निर्मला पन्तको बलात्कारपछि हत्या भए पनि सुरुमा त्यो सामसुम नै थियो । सुरुवाती चरणमै ग्राउन्ड जिरोमा पुगेर रिपोर्ट गर्ने पत्रकार थिए गोकर्ण । कन्चनपुरस्थित निर्मलाको परिवार, आफन्त, प्रहरी, राजनीतिक शक्तिमा रहेका एक–एकसँग भेटेर उनले स्टोरी लेखे । उनैको रिपोर्टिङसमेतको बलमा नेपाल म्यागजिनले वर्षव्यक्ति २०७५ घोषणा गर्‍याे- निर्मला पन्तकी आमा दुर्गादेवीलाई ।

पोस्टमोडर्न गीतहरू गाएर नेपाली संगीतमा छोटो समयमै सुनाम कमाएका सुगम पोखरेलबारे जीवनी लेख्दै थिए गोकर्ण । उत्साहित हुँदै हाम्रा अमेरिकानो गफहरूमा उनले सुनाएका थिए, ‘मेरो सबै मेहनत परेको छ यो किताबमा ।’ अब बुकहिलका प्रकाशक भूपेन्द्र खड्काले मात्रै भन्न सक्लान्, यो अपूरो किताबको प्रगतिबारे ।

एक्सक्लुसिभ न्युज ब्रेक गर्ने खालका रिपोर्टर थिएनन् गोकर्ण । तर विषयवस्तु छान्ने उनको तीक्ष्णता चैँ एक्सक्लुसिभ नै थियो । सुकुम्बासी बस्तीभित्र पसेर होस् या खुलामन्चमा थाल थापेर खाना खाइरहेका ज्यामीहरू, रुकुम जाजरकोटमा कथित् उच्च जातकाहरूको हिंसामा मारिएका दलित युवा होऊन् या मधेशमा परोपकार गरिरहेका धुर्मुस सुन्तलीजस्ता कलाकार, यी एक–एक विषय गोकर्णका रोजाइमा थिए ।

र, उनी थिए– विश्वसनीय रंगपत्रकार । हाम्रोमा अरु विधाभन्दा तुलनात्मक रूपमा रंगपत्रकारिताले इज्जत कमाउन बाँकी छ । गोकर्ण तीखा समीक्षाहरू लेख्थे । सिनेमासम्बन्धी उनको आलोचनात्मक आँखालाई कतिपय निर्माता निर्देशकहरू मन पराउँदैनथे । तर उनको सत्यनिष्ठामाथि प्रश्न गर्ने किन्चित हिम्मत गर्थेनन् । याद रहोस्, हाम्रोमा दुई/चार अपवादलाई छाड्ने हो भने थुप्रै कला समीक्षकहरूको साखमाथि प्रश्नै प्रश्न छन् ।

नेपालमा छँदाछँदै उनले एउटा विन्दुमा पुगेर कान्तिपुर दैनिकमा फड्किने इच्छा गरे । राम्रो सम्भावना भएको रिपोर्टर साथी आफ्नाे टिमबाट गुमाउन म तयार थिइनँ । मैले उनलाई रोक्न खोज्दा उनले केही चित्त दुखाए । अन्ततः मैले उनको चाहनालाई सम्मान गर्दै सहमति दिएँ । खैर, पछिल्लो दिनमा आमपाठकले उनलाई रंगपत्रकार कम, सामाजिक विषयमा धुवाँदार कलम चलाउने कुशल संवाददाताका रूपमा चिन्दै थिए । एउटा साथी र पाठकका रूपमा मैले पनि त्यसमा गर्व गर्दै थिएँ । हामी भेटमा एकअर्काले हेरिरहेका सिनेमा, सिरिज र सुनेका संगीतहरूबारे कुरा गर्दै रह्यौँ ।

मृत्यु शाश्वत् छ । यो सत्य छ । तर असमयको मृत्यु स्वीकार्न को पो तयार हुन्छ र ? उनी र मैले संयुक्त रूपमा भेट्ने कवि मित्र नवराज पराजुलीलाई आज बिहान फोनमा सुनाएँ, ‘गोकर्ण अब रहेनन् ।’

एउटा दिलदार साथीको शीघ्र प्रस्थान सकार्न कविजी यति बेलासम्म पनि तयार छैनन् । सबै साथी शुभचिन्तकहरूलाई असमयमै छक्याएर गोकर्ण हिँडेको हामीलाई चित्त बुझेको छैन ।

नेपाल म्यागजिनको अन्तिम पातोतिर फिल्म रिभ्यू लेख्दा गोकर्ण मुस्किलले ३/५ भन्दा बढी रेटिङ दिन्थेनन् । समीक्षालाई सक्दो वस्तुनिष्ठ बनाउनेमा उनको दिलचस्पी हुन्थ्यो, न कि प्रशंसाको फूलबुट्टा भर्नमा ।

कोभिडकालमा सिनेमा हल बन्द छन् । यही बेला प्यारो साथी सधैँका लागि नेपथ्यमा गएको छ । इन्टर्भलसम्म पनि बाँच्न पाएन उसले ।

उसको स्वच्छ हृदय र खुला सोचलाई आज ५ मा पाँचै स्टार दिन मन लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस