तिहार र ‘हार’

काठमाडौं । जुवा खेलिरहेको एउटा खालमा छापा मार्दा दुई करोडभन्दा बढी रकम बरामद भएको खबर सुनेर म चकित भएको छु । अरु पनि धेरै चकितै भएको हुनुपर्छ । जुवाको खालमा दुई करोड पक्राउ भनेको सुन्दा सुरुमा त अनुमान गरेको थिएँ, जुवा कुनै बैंकमा त खेलिरहेको थिएन ? अचेल आर्थिक तरलताले बैंकमा पनि दुई करोड पाउन मुस्किल छ । तर प्रहरीले जुवाको खालबाटै दुई करोड उठाइदियो ।

प्रधानमन्त्री भन्ने गर्छन्- हामी नेपाललाई समृद्ध बनाउन चाहन्छौँ । तर नेपाल उनले बनाउनुभन्दा पहिल्यै समृद्ध भइसकेको आभास मिलेको छ । नेपाली अहिले जुवामा समेत करोडौँ राख्ने भइसकेका छन् । योभन्दा बढी कति समृद्ध बन्नु ? पहिले-पहिले जुवा भनेपछि दुई-चार सय राखेर खेल्ने गरिन्थ्यो । अहिले हाम्रो समृद्धिको ग्राफ बढ्दै गएर दुई-चार करोड पुगिसक्यो । नेपालमा समृद्धि आएको खै भन्नेलाई त्यही जुवाको खालमा लगेर एक पटक देखाए थाहा पाउने थिए कि ?

जुवाको खालबाट करोडौँ उठाएपछि राष्ट्रको ढुकुटी पनि बलियो हुने निश्चितै भयो । तर जुन जुवाको खालबाट यो पैसा उठाएको हो, ती जुवाडेका लागि भने यसपालिको तिहार तिहार नभई ‘हार’ मात्रै बनिदियो । पैसा जम्मै पुलिसले लगेपछि हारेकै सरह भयो नि । हारेपछि कसरी ‘तिहार’ हुन्छ ? त्यो ‘हार’ मात्रै भयो । तिहारमा ज-जसले लक्ष्मीपूजा गर्छन्, ज-जसले भाइटीका लगाउँछन्, ज-जसले म्हपूजा गर्छन् र ज-जसले देउसी खेल्छन्, तिनलाई तिहार हुने हो, ज-जसले जुवा खेल्छन्, तिनलाई हार मात्रै हुने हो।

तिहार ‘हार’ मा बदलेका एक जुवाडेले मलाई आफ्नो गुनासो पोखे, ‘भाई, यो सरकार तानाशाही बन्दै छ भनेर शेरबहादुर देउवाले पहिला भनेका थिए । मलाई त होजस्तो लाग्यो ।”किन ?’ मैले सोधेँ ।

जुवाडेले भने, ‘राणाशासनमा बरु राणाहरुले घरघरमा जुवा खेल्ने छूट दिन्थे रे । यो सरकारले त त्यति पनि दिएन । के यो सरकार राणा शासनभन्दा पनि तानाशाही बन्न खोजेको होइन ?’
जुवाडेको प्रश्नले मलाई थाहा भयो, अबचाहि जुवामा पनि राजनीति घुसिसकेको रहेछ !

प्रतिक्रिया दिनुहोस