काठमाडौं । नेकपालाई उपयोगितावादले डस्दैछ । नेकपाको साख जोगाउन र एकिकृत ढङ्गले अघि बढ्न “जनताको बहुदलीय जनवाद” रूपी भ्याक्सिनको प्रयोग अनिवार्य भएको छ । नयाँ पुस्ताले विचार र पुस्तान्तरणको मुद्दामार्फत पार्टी एकता अझ सुदृढ बनाउनु पर्छ । अब पहिलो पुस्तालाई स–सम्मान पार्टीको मुख्य नेतृत्वबाट बिदा गर्नुपर्छ । अहिले जसरी पाँच भाईको गुट बनाएर प्रम तथा पार्टी अध्यक्ष केपी ओलीलाई कमजोर बनाउने, एक्ल्याउने र दुबै पदबाट हटाउने कसरत भइरहेको छ, यसले दक्षिणपन्थी खेमामा हर्षोउल्लासको वातावरण बनेको छ।
प्रचण्डले जुनखालको रणनीति अपनाएर प्रम तथा पार्टी अध्यक्ष ओलीलाई पार्टी र राज्य सत्ताबाट हटाउने अनि त्यहाँ आफू स्थापित हुन खोज्दैछन् त्यसले अन्ततः प्रचण्डको राजनीति नै धरापमा पर्ने देखिन्छ । किनभने उपयोगितावाद र माकुरो प्रवृत्तिले सधैं आफैलाई क्षति पुर्याउँछ । गएको बाह्र वर्षहरूमा त्यहि नीति अवलम्बन गर्दा प्रचण्डले प्राप्त भएको नेतृत्वदायी भूमिका र प्रभाव गुमाएको ईतिहास छ । आज फेरि प्रचण्ड त्यहि खालको नीति र अभ्यास दोहोर्याएर आफ्नो हैसियत विवादित र कमजोर बनाउँदैछन् । हुन त प्रचण्डको उठबस नै विवादास्पद छ । उनी बसेको घर नै कालो सूचिमा परेको ठेकेदार छ । मान्छेहरू भन्छन्, श्रोत नखुलेको सम्पत्तिबाट उद्दमी बनेका पात्रले प्रचण्डको घर खर्च चलाई दिएका छन् । कमजोर धरातलमा उभिएर प्रचण्डले आफै सकिने राजनीति गर्दैछन् । उनलाई लागेको होला, मलाई बाह्य आशिर्वाद र सहयोग छ । तर कमजोर प्रचण्डले भोलि त्यो आशिर्वाद पाउनेवाला छैनन् भनेर बुझेनन् ।
अहिले प्रचण्डले चालेको चाल र फालेको जालले ओली पछाडि त पर्लान तर पछारिने प्रचण्ड र लतारिने माधव नेपाल नै हुन् । विचार र मुद्दाविहिन बहस र गुटबन्दीले तत्काल केहि शक्तिशाली भइएला तर त्यो दिगो हुँदैन् । किनभने राजनीति विचार, संगठन र कार्यक्रमको जगमा दिगो रूपमा अघि बढ्छ नकि गुटबन्दीको बलमा । आजको पुस्ताको चेतना र सुझबुझले छलकपटपूर्ण राजनीतिलाई स्विकार गर्दैन् । कुनैपनि खालको गुटबन्दी र चलखेललाई परास्त गर्दै अघि बढ्ने ल्याकत भएको नयाँ पुस्तालाई दास बनाउँछु भन्ने कसैले सोचेको छभने त्यो उसको मूर्खता हुनेछ । प्रचण्ड आज त्यो मूर्खता गर्न खोज्दैछन् । माधव नेपाल किनाराको साक्षी हुँदैछन् । जसले जनविश्वासलाई कुठाराघात गर्दैछ । विधि पद्धतिको कुरा गरिरहदा माधव नेपालले जनादेश र कार्यादेशलाई किन बुझ्न सकेनन् ? नेकपा वृत्तबाट प्रश्न गर्न थालिएको छ।
नारायणमान विच्छुके भन्छन्, भारतले भनेको नमाने प्रचण्ड र बाबुरामको ज्यान जान्छ । विदेशी कै ईसारामा प्रचण्डले ओलीलाई पार्टी र राज्य सत्ताबाट हटाउने खेल खेलिरहेका छन् । यो आरोप सत्यको नजिक छ । यतिञ्जेल भारतसँग संवाद नगर्दा सम्बन्ध बिग्रियो भन्नेहरू नै भारतसँग औपचारिक संवादका लागि वातावरण बन्दै गर्दा प्रम ओलीलाई सत्ताबाट हटाउने प्रयास गर्दैछन् । दक्षिणले पनि सके ओलीलाई सत्ताबाट हटाएर आफू अनुकुलको पात्रलाई नेतृत्वमा स्थापित गर्ने नसके पार्टीभित्रको झगडाको जगमा ओलीलाई गलाउने नीति लिएको यथार्थलाई नेतृत्वले बुझ्न सकेन । आज त्यहि बुझाइको अभावमा नेकपा विग्रहउन्मुख देखिन्छ ।
बौद्धिक वर्गहरूले पनि विवादित मुद्दाहरूलाई द्वन्द्वात्मक मान्यताबाट बुझ्ने र बुझाउने काम गर्न सकेनन् । न त उनीहरूले आमजनतालाई सत्यतथ्य देखाएर नेतृत्वलाई दबाव दिने र सहि बाटो देखाउन सके । जसले गर्दा नकारात्मक बुझाइ, खराब अभ्यास र पात्रको प्रभाव राजनीतिमा कायम रह्यो । तर हामीभने राजनैतिक तथा संवैधानिक व्यवस्था पो बेठीक भनेर जनधारणा बनाउने तर्फ लाग्यौं । अहिले नेकपामा सके प्रम तथा अध्यक्ष दुबै पदबाट ओलीलाई हटाउने नसके प्रमबाट जसरी पनि हटाउने प्रचण्डलगायतको अभियानलाई साथ दिनुभनेको दक्षिणपन्थी अवसरवादको सेवा गर्नु हो। “नेकपामा देखिएको विवादको जड प्रमको पदमा प्रचण्डको दावी हो किनभने अढाई वर्ष सकियो । अहिले छोडियोभने कहिल्यै नपाउने भएपछि पाँच भाईको ग्याङ बनाएर प्रम ओलीमाथि आक्रमण गरिरदैछ।” सरकार बनेदेखि आजका मितिसम्म प्रचण्ड कहिल्यै पनि प्रमप्रति सकारात्मक र सहयोगी देखिएनन्।
प्रचण्ड असहयोगी थिए, सबैलाई थाहा भएकै कुरो हो । माधव नेपाल केपी ओलीको बढ्दो राजनीतिक कदबाट ईर्ष्यालु नै भए । दक्षप्रजापति झलनाथ खनालको कुरा नै गर्न परेन । वामदेवलाई चुनाव हारेको पीडा छदैथ्यो । जबकी चुनाव आफ्नै कारणले हारेका थिए । तर दोष अरूलाई लगाएर प्रचण्डको उपयोगितावादको सारथी बन्दैछन् । भन्न त वामदेव आफूलाई जबजवादी नै भन्छन् । नारायणकाजी अरूलाई आदर्श र नैतिकता सिकाउँछन् आफूभने त्यो आदर्श र नैतिकताको पालना भने गर्दैनन् । गएको एकवर्षदेखि यी पाँच भाईले निरन्तर सरकारको नेतृत्वबाट ओलीलाई हटाउन कसरत गरिरहे । एकदुई कदम पछि हटेर शक्ति सञ्चय गर्दै प्रम ओलीमाथि आक्रमण गरिरहेका छन् । त्यो क्रम निरन्तर जारी छ । प्रचण्डले पेस गरेको एकल प्रस्ताव त्यसको प्रमाण हो।
नेकपालाई तत्काल विभाजनमा जान र लैजाने सक्ने परिस्थिति छैन् यद्दपि विवादहरू विग्रहउन्मुख नै देखिन्छन् । अहिले देखिएको विवाद रूपमा विधि पद्धतिको हो कि जस्तो लाग्छ तर सारमा पार्टी र राज्य सत्ताको नेतृत्वमा को स्थापित हुने भन्ने नै हो । त्यसमाथि प्रचण्डले प्राप्त गरेको बाह्य आशिर्वाद अनि माधव नेपालहरूको विचारहिन गुटीय राजनीतिले थप समस्या सिर्जना गर्यो । केहि हदमा प्रमको कार्यशैलीले पनि आगोमा घ्यु थप्ने काम गर्यो । तर नेकपा सचिवालय सदस्यहरूलाई उपलब्ध गराएको पत्रमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा समावेस भएपछि एकाएक राजनीतिले अर्कै मोड लिने स्थिति बन्दैछ । जसले प्रचण्डको रणनीतिलाई कमजोर बनाउँदैछ।
केपी ओली भन्छन्, “ कमरेडहरू, क्रियाशील र क्षमतावान नयाँ पुस्ताले ‘म त्यो पदमा बसेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्छु’ भन्ने मौकै नपाउने, बुढाहरू यसरी लड्ने कि नेतृत्वको दोस्रो पंत्तिले समेत ‘भो लडाईं नगरी दिनुस्, मिलेर तपाईंहरू नै खानुस्’ भनेर झगडा मिलाउन मै हरदम व्यस्त हुनुपर्ने यस्तो षडयन्त्रपूर्ण खेलको अध्याय यहि अन्त्य गरौं र आ–आफ्ना काममा जुटौं । आँट गरौं, अब आउने औपचारिक फोरमबाट नयाँलाई जिम्मेवारी सुम्पिएर पार्टी, आन्दोलन, देश र जनतालाई गुन लगाऔं ।” प्रम ओलीबाट आएको औपचारिक प्रस्तावले विरोधी गुटमा खैलाबेला मच्चिएको छ । यो मौकालाई सदुपयोग गरेर नयाँ पुस्ताले नेतृत्व लिने र गर्ने सामुहिक प्रयास गर्नुपर्छ नकि पुरानो पुस्ताको दास बनेर झगडामा मलजल गरिरहने।
जस लिन खोसाखोस
अपजसजति दोषादोष गर्ने प्रवृत्ति पार्टीमा हावी हुँदा नेकपाभित्र विवाद उत्कर्षमा पुगेको हो । अहिले अपजसजति प्रम तथा पार्टी अध्यक्ष केपी ओलीमाथि लगाएर अघि बढ्ने दुस्साहस गरेर जगलाई हसाउँने काम भइरहेको छ। त्यसको नेतृत्व पुष्पकमल पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्दैछन् । माधव नेपालहरूले पनि गुणदोषका आधारमा प्रमको समर्थन र विरोध गर्नेभन्दा बदनाम गराउने गरी क्रियाशिल हुँदा प्रचण्डको मनोबल बढेको छ । यसले अन्ततः ओली, प्रचण्ड, नेपालसँगै नेकपाको राजनीतिक धरातलपनि कमजोर बनेको छ । अब आ–आफ्ना कमजोरीहरू स्विकारेर प्रम ओलीले भनेझैं नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका माध्यमबाट नेकपाको राजनीतिक जगलाई जनमूखी बनाउनु पर्छ । अन्यथा पतनको बाटोमा नेपालको कम्न्युनिष्ट आन्दोलन प्रवेस गर्नेछ । जसरी भारतको कम्न्युनिष्ट सकियो त्यसरी नै नेपालका कम्न्युनिष्टहरू पनि सकिन्छन्।